अयोध्यापुरीमा हस्तकला सामग्री निर्माण सम्बन्धी १५ दिने तालिम सम्पन्न

275
SwadeshPost

अयोध्यापुरीको शिवद्वारमा हस्तकला सामग्रीहरु निर्माण सम्बन्धी १५ दिने तालिम अाइतबार सम्पन्न भएको छ । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको आयोजना तथा तराई भू-परिधि कार्यक्रम (ताल) को सहयोगमा पूर्वी माडीको अयोध्यापुरी क्षेत्रका १८ जना महिलाहरुलाई हस्तकलाका सामग्रीहरु निर्माणको तालिम दिइएको हो ।

तालिमका सहभागीहरुले झोला, रुमाल, लालीगुराँस, खादा आदिजस्ता सामग्रीहरु निर्माण गर्न सिकेका हुन् । घरेलु स्तरमा निर्माण गर्न सकिने यस्ता हस्तकला सामग्रीहरु व्यवसायिक रुपमा उत्पादन गरी तालिमका सहभागीहरुले जीविकोपार्जन गर्न सकुन भन्ने उद्देश्य राखिएको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीले जानकारी दिनुभयो ।

अाइतबार सम्पन्न तालिम समापनको कार्यक्रम शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेका व्यवस्थापक तुल बहादुर पुनको अध्यक्षता रहेको थियो भने अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भण्डारी प्रंमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा भू-परिधि कार्यक्रम (ताल)का फिल्ड स्टाफ युवराज घताने, तालिमका प्रशिक्षिका अमिता श्रेष्ठ, स्थानीय वडा सदस्य सोममाया पुन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले तालिममा सिकेका कुराहरु जीवन व्यवहारमा ल्याउन सहभागीहरुलाई अनुरोध गर्नुभयो । त्यसैगरी सहभागीहरुका तर्फबाट बोल्दै अस्मिता प्रजाले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

SwadeshPost