नारायणगढ ठोरी हुलाकी सडक अन्तरगत माडी खण्डको मर्मत कार्य सुरु

807
SwadeshPost

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडी खण्डको सडक मर्मत कार्य सुरु भएको छ । हुलाकी सडकको मर्मत गर्ने जिम्मेवारी पाएको आशिष कन्स्ट्रक्सनले बनकट्टाबाट सडक मर्मत गर्न सुरुवात गरेको हो ।

माडी नगरपालिका कार्यालय र माडीका सडक सरोकारवालाले हुलाकी बाटो मर्मत तथा सडक निर्माण कार्य तत्काल सुरुगर्न पटक पटक दवाब दिएपछि ढिलोगरी आशिष कन्स्ट्रक्सनले काम सुचारु गरेको हो । मर्मत कार्य अन्तर्गत सडकमा भएका खाल्डाखुल्डी पुर्ने तथा हिलाम्य भएका कतिपय स्थानमा ग्राभेल हाल्ने काम भइरहेको माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

यसअघि सडक मार्ग भत्किएर हिँडडुल गर्न तथा सवारी साधन सञ्चान गर्न नै गाह्रो हुनेगरी नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तर्गत माडी खण्डका सडकहरु खाल्डाखुल्डी भई बिग्रिएको व्यापक जनगुनासो आएको थियो । सामाजिक सञ्जालहरुमा माडीका बाटोको विषयलाई लिएर चौतर्फि आलोचना भइरहेको थियो भने स्वदेश एफ.एम.ले समेत यस बिषयलाई निरन्तर फलोअपसहित समाचार प्रसारित गरिरहेको थियो ।

यसैबिच, चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका सुबिधाप्राप्त बाटोहरुमा आउदो बिहीबारदेखि मर्मत कार्य सुरु हुने भएको छ । सडक विभाग चितवन र माडी नगरपालिकाका डोजर, ट्रिपर र ट्याक्टर लगायतका निर्माण साधनहरुले बिहीबारदेखि निकुञ्जभित्र काम सुरु गर्ने माडी नगरपालिकाका नगरप्रमुख ढकालले जानकारी दिनुभयो । नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तर्गत कसरादेखि बनकट्टा तथा बगहीदेखि अमुवापोष्टसम्म सुबिधाप्राप्त बाटोमा सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन तथा आवतजावत नै असहज हुनेगरी बाटो भत्किाएका छन् भने खाल्डाखुल्डी परेका छन् ।

SwadeshPost