निकुञ्जको अवरोध छिचाेल्दै बाँदरझुलामा सवारी साधन सञ्चालन सुचारु

509
SwadeshPost

माडीको बाँदरझुलामा साेमबारदेखि सवारी साधन आवत जावत सुचारु भएको छ । बाँदरझुला क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण, एम्बुलेन्स लगायत सबैखाले चारचक्के र सो भन्दा ठूला सवारी साधनहरु चल्न सकेका थिएनन् ।

करीब ५०० घरधुरीको बसोबास रहेको बाँदरझुला क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको अतिक्रमित भूमि भएको जिकिर गर्दै निकुञ्जले सवारी साधनहरु चल्न रोक लगाउँदै आएको थियो । तर माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले चितवनको समग्र पर्यटन विकासका लागि भरतपुरमा आयोजित कार्यशाला गोष्ठीमा सहभागी हुँदा निकुञ्जका प्रमुख संरक्षण अधिकृतसंग गर्नुभएको कुराकानी तथा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको निर्देशनको कारण बाँदरझुलामा सवारी साधन सञ्चालनको अवरोध हटेको जनाइएकाे छ ।

बाँदरझुलामा सवारीसाधन सञ्चालन हुन नसक्दा स्थानीयबासीहरु पीडित हुँदै आएका थिए । रोगब्याधी लाग्दा वा प्रसव पीडाको समयमा पनि एम्बुलेन्स लगायतका सवारी साधन चढ्न तथा चलाउन नपाउँदा बाँदरझुलाबासीहरुलाई निकै सकस हुँदै आएको बाँदरझुला बस्ती व्यवस्थापन समितिका अध्यक्ष राजकुमार चेपाङको भनाई थियो ।

SwadeshPost