माडीकाे बहुप्राविधिक शिक्षालयमा इञ्जिनियरिङ र पशुबिज्ञान अध्यापन हुने

578
SwadeshPost

माडीमा स्थापना हुन लागेको दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा सिभिल इञ्जिनियरिङ र पशुबिज्ञान बिषयको अध्यापन हुने भएको छ । यी दुबै कार्यक्रम तीन बर्षे अवधीका हुने र सम्भव भएसम्म यसै शैक्षिक बर्षमा पढाई सुरुवात गरिने प्राबिधिक तथा ब्यबसायिक तालिम परिषद् (सि.टि.इ.भि.टी.)ले जनाएको छ । सि.टि.इ.भि.टी. परिषद् सदस्य भरत रेग्मीका अनुसार सामुदायिक शिक्षालयहरुमा इञ्जिनियरिङ र कृषि बाहेक अरु बिषय पढाउन नपाइने भएकाले माडीमा स्थापना हुने शिक्षालयमा सिभिल इञ्जिनियरिङ र डिप्लोमा इन एग्रिकल्चर पढाई हुनेछ ।

यसअघि, सोमबार शिक्षा तथा बिज्ञान प्रबिधि मन्त्रालयमा बसेको सि.टि.इ.भि.टीको परिषद् बैठकले चितवनको माडी नगरपालिका क्षेत्रभित्र स्थापना हुनेगरी दिवाकर स्मृति बहुप्राबिधिक शिक्षालय सञ्चालन गर्ने निर्णय गरेको थियो । माडीसंगै अन्य आठ जिल्लामा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने र देशभरका ९५ वटा सामुदायिक विद्यालयहरुलाई तीनवर्षे प्राविधिक शिक्षा सञ्चालन गर्न समेत स्वीकृति दिइएको थियो । परिषद् अन्तर्गत हाल ३७ वटा आङ्गिक शिक्षालय, २१७ वटा सामुदायिक विद्यालय, ५ वटा साझेदारी शिक्षालय तथा ४२९ वटा निजी संस्थाहरुमा करीब ८०० तालिम सञ्चालन भइरहेको छ ।

SwadeshPost