माडीको पवित्र धर्मस्थल बाल्मिकी आश्रम संरक्षणको पर्खाइमा

642
SwadeshPost

प्राकृतिक तथा अध्यात्मिक सम्पत्तिको रुपमा रहेको चितवनको गर्दी गाबिस स्थित बाल्मिकी आश्रम संरक्षण र सडक सहजताको अभावमा ओझेलमा परेको छ । बाल्मिकी ऋषिले तपस्या गरेको, सीतालाई संरक्षण दिइ राखिएको तथा बाल्मिकी ऋषि अन्तध्र्यान भएको ठाउँ भएकाले हिन्दु धर्ममा ठूलो महत्व राख्ने भएपनि त्यस ठाउँ दुर्गम भएका कारण ओझेलमा परेको हो ।

पौराणिक कथन अनुसार सीता माताले पाताल प्रबेश गरेको स्थान, लबकुश जन्मस्थल एवं लबकुशले घोडा बाधेको, सीताले सिलौटा पिंधेको स्थान जस्ता महत्वपुर्ण स्थान सो क्षेत्रमा रहेका छन् । मन्दिरका पुजारी शेखर सुबेदीका अनुसार माघे औंसीमा ठूलो मेला भर्न भारत तथा तेस्रो मुलुकबाट हजारौं भक्तजन आउने गर्छन । आश्रममा पिउने पानी, बिजुली बत्ती तथा बाटो नभएकोले निकै सास्ती खेप्नु परेको पुजारी सुबेदीको भनाइ छ । नेपाल सरकारले संरक्षण तथा बाटोघाटोको ब्यबस्था गर्न नसकेका कारण नेपाली भक्तजनको उल्लेख्य सहभागिता हुन नसकेको उहाँले बताउनुभयो । नवलपरासी हुदै भारतको पश्चिम चम्पारण भएर आश्रममा पुग्नु पर्ने बाध्यता रहेको त्यस ठाउँमा जान भारतीय सुरक्षाकर्मीलाई प्रतिब्यक्ति पच्चिस रुपैंया र सवारीसाधनलाई तीन सय रुपैंया तिर्नु पर्ने हुन्छ ।

माडीको नगरपालिका वडा नं. १ मा पर्ने सो भुमि चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानु पर्ने भएकोले पनि श्रद्दालु भक्तजनलाई दुःख हुने गरेको छ । तत्कालिन राजा महेन्द्रले बाह्र बिगाहा क्षेत्रफल मन्दिरलाई छुट्याएपनि अहिले चितवन राष्ट्रिय निकुञ्जले नै आफनो क्षेत्र भन्दै ओगटेको स्थानियको भनाइ छ । त्यस क्षेत्रमा १३ घरधुरीको संख्यामा सुकुम्बासी बस्ती समेत रहेको छ । खानेपानी, यातायात, शिक्षा तथा स्वास्थ्यको पहुँचबाट टाढा रहेको उक्त बस्तीका बासिन्दाहरु भौगोलिक समस्याका कारण चितवन माडीको गर्दी गाविसबासी भएपनि नवलपरासी जिल्लाबाट नागरिकता लिन बाध्य भएका छन् । माडीको मुल भुमीबाट उक्त स्थान पुग्न चितवन राष्ट्रिय निकुञ्ज भित्रको लामो तथा अप्ठ्यारो बाटो पार गर्नुपर्ने भएकाले प्रायः त्रिवेणीधामको पुल पार गरी नवलपरासीको बाटो प्रयोग गरिने स्थानीयवासीहरुको भनाई छ । चितवनबासी भएर पनि नवलपरासीको नागरिकता बोक्नुपर्दा नराम्रो महसुस हुने बताउने उनीहरुले सरकारसंग सडक, यातायात लगायत अन्य सेवासुविधाहरुको माग गरेका छन् ।

SwadeshPost