आरक्षण सिट लागु गर्ने माडीका यातायात व्यवसायीकाे प्रतिवद्धता

152
SwadeshPost

सार्वजनिक यातायातमा सरसफाई कायम गर्न तथा आरक्षण सिट र ट्राफिक नियम कार्यान्वयनका लागि सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिप नेपाल संस्थाको आयोजनामा सम्पन्न सो कार्यक्रममा माडीका यातायात व्यवसायी र सडक सुरक्षाका सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहयोगी निकायका रुपमा ईलाका प्रहरी कार्यालय माडी र चितवन सक्रिय महिला प्रतिष्ठान रहेको थियो ।

सीप नेपालकी अध्यक्ष इन्दिरा वि.क. को अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिकाकी नगर उपप्रमुख ताराकुमारी काजी महतो रहनुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता नारदमणी पौडेल, ईलाका प्रशासन कार्यालय माडीका प्रमुख गणेश भट्टराई, माडी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष शिवहरी सुवेदी, बगही पोष्टका क्याप्टेन बिकास पुरी, यातायात व्यवसायी हितमान गुरुङ, ईलाका प्रहरी कार्यालय माडीका प्रतिनिधी भानुभक्त आचार्य, ट्राफिक प्रहरी प्रकाश पाण्डे लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी यातायात व्यवसायीहरुले आफुहरु ट्राफिक नियम पालना गर्न संधै तयार रहेको जनाउँदै भदौ १ गतेबाट आरक्षण सिटको नियम लागु गर्ने प्रतिवद्धता जनाएका छन् । त्यसैगरी बसमा उत्पन्न हुने फोहोर व्यवस्थापन गर्न सिप नेपाल र माडी नगरपालिकाले हरेक बसमा डस्टबिनको ब्यवस्थापन गर्ने र बस सञ्चालकहरुले प्लाष्टिक संकलन गरी बसन्तपुर बजार ल्याई सिप नेपाल मार्फत व्यवस्थापन गर्ने सहमती भएको छ । कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख महतोले सडक र सवारी सरसफाई योजनामा माडी नगरपालिकाले सहयोग गर्ने जनाउनुभयो । कार्यक्रमको सञ्चालन सिप नेपालकी सह–सचिव बबिता पौडेलले गर्नुभएको थियो ।

SwadeshPost