समायोजन घाेषित माडीका दुई विद्यालय साविककै संरचनामा सञ्चालित

432
SwadeshPost

माडी नगरपालिकाले समायोजनको घोषणा गरिसकेका दुईवटा विद्यालय भने साविककै नाउँसहित पुरानै ठाउँमा सञ्चालनमा आएका छन् ।

माडी नगरपालिका वडा नं. ६ मा रहेको शिशु कल्याण आधारभूत विद्यालय र वडा नं. ७ मा रहेको दिवानगर आधारभूत विद्यालय साविककै संरचनामै चलिरहेका हुन् । माडी नगर कार्यपालिकाको निर्णयबाट छिमेकका विद्यालयमा समायोजित भइसकेका भएपनि दुबै विद्यालयको अवस्थिति तथा त्यहाँ पढिरहेका विद्यार्थीहरुको व्यवस्थापन हुन नसक्दा पुरानै संरचनामा स्कूल चल्नुपरेको हो ।

शिशु कल्याण आधारभूत विद्यालयमा कक्षा नर्सरीदेखि ७ सम्म करीब १६८ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् भने विद्यार्थी भर्नाको अभियान जारी रहेको विद्यालयका प्रधानाध्यापक यमनाथ पौडेलले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । कक्षा नर्सरीदेखि १ सम्म अंग्रेजी माध्यममा चलिरहेको यस विद्यालयमा कक्षा २ र ३ भने खाली रहेको र त्यसमाथिका कक्षाहरु नेपाली माध्यमबाट चलिरहेका छन् । बर्षेनी अंग्रेजी कक्षाहरु तहगत रुपमा बढाउँदै लगिएको उहाँले जनाउनुभयो । यस विद्यालयलाई नगरपालिकाले जनकल्याण माध्यमिक विद्यालयमा मर्ज गर्ने निर्णय गरी पत्राचार गरेको थियो । त्यसकारण केहि महिना केहि अस्तव्यस्त भएपनि बिस्तारै सबैकुरा पूर्ववत व्यवस्थित हुँदै गएको उहाँको भनाई छ । यहाँ अध्ययन गर्ने अधिकांश विद्यार्थीहरुका लागि हालको जनकल्याण माध्यमिक विद्यालय टाढा रहेकोले विद्यालय समायोजन हुन नसकेको हो । माडी नगरपालिकाको विद्यालय मर्ज गर्ने निर्णयबाट यस विद्यालयलाई फाइदा पनि पुगेको छ । मर्ज भएको लक्ष्मीनिवासस्थित नवदुर्गा आधारभूत विद्यालयका केहि शिक्षकहरु यस विद्यालयमा हाजिर हुन थालेकाले निजी श्रोतमा शिक्षक राख्नुपर्ने बोझ भने हटेको उहाँले जनाउनुभयो ।

त्यसैगरी दिवानगरमा रहेको आधारभूत विद्यालयमा शिशुदेखि पाँच कक्षासम्म करीब ७३ जनाले अध्ययन गरिरहेका छन् । माडी नगरपालिकाले यस विद्यालयलाई जगन्नाथपुरी आधारभूत विद्यालयमा समायोजन गर्ने निर्णय गरेको थियो । तर स्थानीय समुदायको असन्तोष र पहलकदमीका कारण विद्यालय पुरानै नाउँमा स्वायत्त स्वरुपमा चल्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढाकामोहन तिमिल्सिनाले जानकारी दिनुभयो । ५ जना दरबन्दीका तथा २ जना नीजि श्रोतका शिक्षकहरु कार्यरत यस विद्यालयमा हाल कक्षा ३ सम्म अंग्रेजी माध्यममा बोर्डिङ स्कूलको पाठ्यपुस्तक पढाइ हुने गरेको छ । विद्यालयलाई मर्जर हुनबाट बचाउन स्थानीय समुदायले सहयोगी हातहरुको मिलन कार्यक्रम सञ्चालन गरी विद्यालयलाई सोलार, जेनेरेटर, खेलकूद सामग्री, कम्प्युटर तथा नगद सहयोग उपलब्ध गराएका छन् ।

SwadeshPost