माडी सामुदायिक होमस्टेका सञ्चालकहरुले गरे नवलपुरका होमस्टे अवलोकन

321
SwadeshPost

माडीको बघौंडामा स्थापना हुन लागेको माडी सामुदायिक होमस्टेका सञ्चालकहरुले नवलपुरका होमस्टेहरुको अवलोकन भ्रमण गरी फर्किएका छन् ।

बघौंडा गाउँमा स्थानीय थारु समुदायद्वारा सञ्चालन गर्न लागिएको सामुदायिक होमस्टेका लागि विभिन्न बिषयमा सिकाईका लागि भ्रमण गरिएको माडी सामुदायिक होमस्टेका अध्यक्ष ओमप्रकाश महतोले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । माडीको टोलीले नवलपरासीको अमलटारी र पिप्रहर होमस्टेको भवन, भित्री साजसज्जा, व्यवस्थापन लगायतका संरचनाहरु त्था थारु संग्रहालय र थारु सांस्कृतिक सम्पदाहरुको अवलोकन गरेको थियाे । अमलटारीमा रहेको थारु होमस्टे तथा पिप्रहर होमस्टे पर्यापर्यटनको क्षेत्रमा चर्चित एवं नमुनाका रुपमा रहेका छन् ।

माडी सामुदायिक होमस्टेको टोलीलाई कावासोती नगरपालिकाका उपप्रमुख समेत रहनुभएका अमलटारी सामुदायिक होमस्टेका अध्यक्ष प्रेम शंकर मर्दनीयाले होमस्टे सञ्चालनका विभिन्न पाटो र पक्षहरुमा अन्तरक्रियात्मक प्रशिक्षण दिनुभएको माडी होमस्टे स्थापनका अभियन्ता गोबिन्द न्यौपानेले जानकारी दिनुभयो । अध्यक्ष मर्दनीयाले अमलटारी गाउँमा होमस्टे स्थापना हुनु अगाडिको समस्या तथा होमस्टे सञ्चालन भइसकेपछि फेरिएको मुहारका बिषयमा सबिस्तार जानकारी गराउनु भएको थियो ।

यसअघि माडी सामुदायिक होमस्टेकोको टोलीले अयोध्यापुरीको शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेको अवलोकन भ्रमण गरेको थियो । भ्रमणमा पुगेको टोलीलाई अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेका अध्यक्ष मोहन पुन मगरले होमस्टे सञ्चालन तथा यसका समस्या र चुनौतीहरुका बिषयमा अनुभव सुनाउनु भएको थियो ।

SwadeshPost