चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुबिधाप्राप्त बाटो मर्मत कार्य जारी

353
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुबिधाप्राप्त बाटोको मर्मत कार्य जारी रहेको छ । माडी नगरपालिकाको रोलर, ब्याक हु लोडर, ट्रयाकटर, ट्रिपर लगायतका साधनले गत शनिवारदेखि सडक मर्मत गरिरहेका हो ।

सुरुमा माडी नगरपालिकासंगै सडक विभागद्वारा संयुक्त रुपमा बाटो मर्मत हुने भनिएपनि सडक विभागले वास्ता नगरेपछि नगरपालिकाले आन्तरिक बजेटबाट नगरपालिकाकै निर्माण साधनहरुको प्रयोग गरिएको माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो । स्वदेश एफ.एम.को दैनिक सन्ध्याकालीन कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै नगर प्रमुख ढकालले सडक विभागलाई सडक निर्माणमा वास्ता नगरेको जनाउनु भएको हो ।

काममा कुनै अवरोध नआए आउँदो चार दिन भित्र रिउ पुलदेखि कसरा सम्मको नौ किलोमिटर सडक मर्मत गर्ने कार्य सम्पन्न हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । यतिखेर गरिएको मर्मतबाट यो सडक प्रयोगकर्तालाई धेरै सहज हुने माडी नगरपालिकाले विश्वास लिएको जनाएको छ ।

यसैबिच, जंगलभित्र सडक मर्मत सुरु गरिएसँगै पकौडी बजारदेखी बनकट्टास्थित रिउ खोलाको पुलसम्म कालोपत्रे सडकका लागी सर्भे थालिएकोे छ । सर्भे गर्नका लागि चितवनको एक कन्सल्टेन्सीलाई जिम्मेवारी दिइएको माडी नगरपालिकाले जनाएको छ ।

SwadeshPost