माडीको दक्षिणी गाउँ सितलपुरमा बँदेलको आक्रमणबाट ४ जना घाइते

213
SwadeshPost

माडीको दक्षिणी गाउँ सितलपुरमा बँदेलको आक्रमणमा परी ४ जना घाइते भएका छन् । हिजो बिहान करिब ८ बजेतिर कुलोमा पानी लगाउन गएको बेला स्थानीय सामुदायिक बनबाट धानबारीमा प्रवेश गरेको बँदेलले आक्रमण गरेको हो । आक्रमणमा परी माडी नगरपालिका वडा नं. ४ निवासी रमेश चालिसे गम्भीर घाईते हुनुभएको छ । त्यसैगरी घटनामा परी सितलपुरमै बसोबास रहेका शिव तामाङ, थानेश्वर सापकोटा र रुना महतो सामान्य घाइते हुनुभएको छ ।

घाइते रमेश चालिसेलाई सुरुवाती उपचारका लागि बसन्तपुरस्थित बघौंडा अस्पतालमा पु¥याइएको भएपनि हातको औंलाको जोर्नी नै छुट्टिएकोले थप उपचारका लागि भरतपुर लगिएको छ । अरु तीजनाको स्थिति भने सामान्य रहेको छ ।

यसैबिच, स्थानीय चुरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्ने घोसरी, सितलपुर, इन्द्रवस्ती र चितवन राष्ट्रिय निकुञ्ज आसपासका पाण्डवनगर, द्रौपदीनगर, कल्याणपुर क्षेत्रहरुमा वर्षेनी बँदेलले सताउँदै आएको छ । बँदेलले धानबालीमा नभई मकै र गहुँको बालीलाई समेत बालीनाली नष्ट गर्ने गरेको छ । जंगलसंग नजिक रहेका गाउँठाउँहरुमा अत्यधिक झाडी र बुट्यानहरु बढेसंगै पछिल्ला दिनहरुमा बालीनालीमा आउने बँदेलहरुको संख्या बढ्दै गएको छ । बँदेलले वर्षेनी बालीनाली नष्ट गरिरहेपनि सम्बन्धित निकायहरुले पर्याप्त चासो नदिँदा कतिपय किसानहरु बालीनाली नै नलगाइ जग्गा बाँझो छोड्न बाध्य हुनुपरेको व्यापक जनगुनासो रहिआएको छ ।

SwadeshPost