बहुप्राविधिक शिक्षालयका लागि हरिनगरमा जमीन पास गरी हस्तान्तरण

208
SwadeshPost

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सि.टि.इ.भि.टी.को आंगिक क्याम्पस, दिवाकर बहुप्राविधिक शिक्षालयका लागि माडीको हरिनगरमा जमीन पास गरिएको छ ।

माडी नगरपालिका वडा नं. ६ स्थित हरिनगर आधारभूत विद्यालय हरिनगरको भवन रहेको जनकल्याण माध्यमिक विद्यालयको ४ बिगाहा १९ कठ्ठा १३ धुर जग्गा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, सानोठिमी भक्तपुरलाई पास गरिएको हो । मालपोत कार्यालय, बसन्तपुरले जमीन पास गरिदिएलगत्तै माडी नगरपालिकाले जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण कार्यक्रम आयोजना गरी नयाँ प्रमाणपुर्जा सि.टि.इ.भि.टी.लाई हस्तान्तरण गरेको थियो । सो संक्षिप्त कार्यक्रममा माडी नगरपालिकाका नगरप्रमुख ठाकुर ढकालले सि.टि.इ.भि.टी.का उपनिर्देशक रमाकान्त काफ्लेलाई पुर्जा हस्तान्तरण गर्नुभयो । माडीमा स्थापना हुन लागेको सो शिक्षालयलाई सम्पूर्ण माडीले गौरवका साथ अंगाल्नु जरुरी रहेको नगर प्रमुख ढकालको भनाई थियो ।

सि.टि.इ.भि.टी.लाई कित्ता नं १२४, १२१, १२३ र २४१ ग्रि चारवटा कित्ताबाट कुल ३३ हजार ७ सय ४४.५५ बर्गमिटर क्षेत्रफलको जमीन एकलौटी हकहिस्सा हुनेगरी हस्तान्तरण गरिएको हो । सि.टि.इ.भि.टी.लाई जमीन प्राप्त भएसंगै अब शैक्षिक कार्यक्रम सुरुवात हुने जनाउँदै आफूहरुलाई खुसी लागेको उपनिर्देशक काफ्लेको भनाई छ ।

जग्गा हस्तान्तरणका लागि माडी नगर कार्यपालिकाको निर्णयको प्रतिलिपी, शिक्षा विकास तथा समन्वय ईकाई भरतपुर चितवनको सिफारिस, जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापन समितिको निर्णय, शिक्षा परिषद्को स्वीकृत निर्णय पेश गरिएको थियो । शिक्षालयमा सिभिल इञ्जिनियरिङ, कृषि र पशु बिज्ञान बिषय सञ्चालन हुनेछ । जग्गा हस्तान्तरण कार्यक्रमको स्वदेश एफ.एम.ले ब्रेकिङ न्यूजसहित प्रत्यक्ष प्रसारण गरेको थियो ।

SwadeshPost