मर्ज भएकाे स्कुल साविककै संरचनामै चलाउन सहयोग अभियान सुरू

390
SwadeshPost

माडी नगरपालिकाद्वारा समायोजनको घोषणामा परेको दिवानगरस्थित दिवानगर आधारभूत विद्यालयलाई साविककै संरचनामै चलाउन स्थानीयबासीहरुले सहयोग जुटाउने अभियान चलाएका छन् । छिमेकी जगन्नाथपुरी आधारभूत विद्यालयमा मर्ज गर्ने निर्णय भई कार्यान्वयनमै आइसकेको भएपनि विद्यालयको आवश्यकता महसुस गरी दिवानगरका स्थानीयबासीहरुले स्कूल पुनर्स्थापित गर्न सहयोग संकलन अभियान सञ्चालन गरेका हुन् ।

विद्यालयको सहयोगार्थ दिवानगर घर भई हाल भरतपुर महानगरपालिका-१० निवासी सुवास गौतमबाट चार थान कम्प्युटर सेट, कम्प्युटर चलाउने एकवटा जेनेरेटर, तीनवटा कम्प्युटर टेबल र ६ थान कुर्ची सहयोग स्वरुप प्राप्त भएको तथा दिवानगरकै यम बहादुर के.सी.बाट एक थान कम्प्युटर सेट र नगद रु १० हजार रुपैंया प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढाकामोहन तिमिल्सिनाले स्वदेश एफ.एम.लाई जानकारी गराउनुभयो ।

त्यसैगरी, विभिन्न रिकण्डिसन हाउसहरुमा कार्यरत दिवानगरका युवाहरुले विश्वकप फुटबलका क्रममा संकलन गरेको खाजा खर्च रु १३ हजार तथा मामा भाञ्जा रिकण्डिसन, सगरमाथा रिकण्डिसन, माडी रिकण्डिसन र चितवन रिकण्डिसनमार्फत ७/७ हजार रुपैंया सहयोगस्वरु संकलित भएको छ भने रिकण्डिसन सञ्चालक रामचन्द्र दवाडीबाट पनि समान ७ हजार रुपैंया प्राप्त भएको जनाइएको छ । त्यस्तै, स्थानीयबासी शिव थापा र प्रकाश सुवेदीबाट रु ५/५ हजार, दाजुभाई रिकण्डिसनका सञ्चालक दिपक खड्का र स्थानीयबासी रमेश बस्नेतबाट समान रु २५ सय संकलित भएको छ भने दिवानगरकै पिताम्बर अधिकारीबाट रु १ हजार तथा ईश्वर रानामगरबाट ३ इञ्चको ५० फिट लामो पाइप प्राप्त भएको छ ।

विद्यालयमा शिशुदेखि पाँच कक्षासम्म करीब ७३ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । ५ जना शिक्षकको दरबन्दी तथा ३ जना नीजि श्रोतका शिक्षकहरु कार्यरत यस विद्यालयमा हाल कक्षा ३ सम्म अंग्रेजी माध्यममा बोर्डिङ स्कूलको पाठ्यपुस्तक पढाइ हुने गरेको छ । सम्पूर्ण सहयोग दाताहरुलाई विद्यालयको तर्फबाट आभार व्यक्त गरिएको विद्यालयका प्रधानाध्यापक यम कुमार काफ्लेले जानकारी दिनुभयो ।

SwadeshPost