आज जनैपुर्णीमा, देशभर विधिपूर्वक जनै तथा राखी लगाएर मनाइदै

362
SwadeshPost

आज जनैपुर्णीमा अर्थात् रक्षाबन्धन । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । आज ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू (पुरोहितद्वारा) अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा भोलिको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका ६ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा आत्मियता बढ्छ भन्ने सामाजिक मान्यता रहि आएको छ ।

यसैबिच, कृष्ण जन्माष्टमी पर्वको अवसरमा ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र बसन्तपुरले रक्षाबन्धन तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । हरेक बर्ष कृष्ण जन्माष्टमी पर्वको अवसरमा झाँकी र प्रवचनसहितको शुभकामना आदान–प्रदान कार्यक्रम सञ्चालन गर्दै आइरहेको सो उपसेवा केन्द्रमा आज (आइतबार) बिहान ८ बजेदेखि साझ ६ बजेसम्म रक्षाबन्धन कार्यक्रम जारी रहने ब्रह्मकुमारी शुभद्राले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost