नेवा राज समाज माडीको आयोजनामा परम्परागत गाइजात्रा पर्व मनाइयाे

459
SwadeshPost

नेवा राज समाज समिति माडीको आयोजनामा नेवार समुदायले परम्परागत रुपमा मनाउने गाइजात्रा पर्व मनाइएको छ । दिवंगत आफन्तको सम्झानामा स-साना बालबालिकाहरूलाई गाइको प्रतीकको रुपमा सिंगारेर तथा लाखे नाच गरेर गाइजात्रा पर्व मनाइएको हो ।

पर्वको अवसरमा बसन्तपर बजारबाट निकालिएको गाइजात्रा बजार परिक्रमा पछि बसन्तपुर गाउँमा पुगेर सम्पन्न भएको थियो । आफ्नो परम्परागत सँस्कृतिलाई कायम गर्न माडीमा पनि विगत ३ वर्षयता गाइजात्रा पर्व मनाउने गरिएको नेवा राज समाज समिति माडीका सचिव मनोजकुमार श्रेष्ठले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । त्यस्तै, कृष्ण द्वितीयाको दिन विहान ११ बजेदेखि माडीको ढिकुन हुँदै बरुवा बजारमा रोपाइ जात्रा गरिने नेवा राज समाज समितिका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म नेवार समुदायले गाईजात्रा पर्व मनाउने गर्दछन । एक वर्षभित्र मृत्यु भएका आफन्तका सम्झनामा गाइ वा मानिसलाई गाईका रूपमा सिँगारी गाइजात्रा निकालिने गरिन्छ । उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसो गर्नाले वर्षभरी मृत्यु भएका व्यक्ति गाइको पुच्छर समाई वैतरणी पार हुन्छन भन्ने धार्मिक विश्वास छ ।

पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भनेर देखाउन राजा प्रताप मल्लले, ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु,’ भनी आज्ञा दिएको बताइन्छ । त्यतिले पनि रानीको मन शान्त नभएपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गर्ने र गराउने आदेश दिए अनुसार गाइजात्राको प्रचलन चलेको जनविश्वास रही आएको छ ।

SwadeshPost