माडीको बाह्रघरे गाउँबासीहरु सुरक्षित अावतजावतकाे समस्याबाट पीडित

814
SwadeshPost

मध्यपुर्वी माडीको बाह्रघरे गाउँबासीहरु सुरक्षित अावतजावतकाे समस्याबाट पीडित बनेका छन् । चारैतिर जङ्गलले घेरिएको सानो उपत्यकाका रुपमा रहेको बाह्रघरे जानआउन जंगलको बाटो कट्नुपर्ने र कुनैपनि खालको सवारीसाधन सञ्चालनमा नरहेको कारण उनीहरू पीडित बनेका हुन् । कुल १४ घरपरिवारको बसोबास रहेको बाह्रघरे पुग्दा र फर्कदा जङ्गलमा जङ्गली जनावरको समेत डर रहेको स्थानियबासी सुर्यबहादुर गुरुङले स्वदेश एफ.एम.लाई जनाउनुभयो ।

बाह्रघरे सडकमार्गसंगै खानेपानी, शिक्षा, स्वास्थ्य लगायत हरेक कुराहरुको पहुँच पुगेको छैन । प्राथमिक तहदेखि माथिल्लो तह अध्ययन गर्न स्थानिय विद्यार्थीहरु जङ्गलवारी कान्तिपुर आधारभुत विद्यालय, दक्षिण अयोध्यापुरी आधारभुत विद्यालय र जनजिवन माध्यामिक विद्यालयमा पुग्नुपर्ने वाध्यता रहेको छ । गाउँबाट करिब २ किलोमिटर टाढाको स्कुल, जङगलको बाटो हुँदै जानुआउनु पर्दा स–साना बालबालिका लगायत विद्यार्थीहरुलाई सास्ती हुनेगरेको छ । जङ्गल क्षेत्रमा बाघको सन्त्रास रहेको र गाउँमा दिनदहाडै बाघ भालु, बँदेल आदिजस्ता जनावर आइपुग्ने समस्याबाट पिडित रहेको अर्का स्थानियबासी डिलमाया थापाले बताउनुभयो ।

१ घर गुरुङ, ४ घर चेपाङ, ३ घर दलित समुदाय, ५ घर मगर र १ घर कुमालको बसोबास रहेको बाह्रघरेबासि कृषि र पशुपालनमा निर्भर रहेका छन् । नजिकै माडीको प्रमुख पर्यटकिय क्षेत्र बैकुण्ठताल रहेपनि त्यसको कुनै फाइदा भने सो ठाउँबासीले उठाउन सकेको छैनन् ।

यसैबिच, बाह्रघरे बासिहरु आयआर्जनको लागि होमस्टे सञ्चालन गर्नुपर्ने पक्षमा देखिएका छन् तर आर्थिक अभावमा त्यसको कुनै काम भने हुनसकेको छैन । पर्यटकिय क्षेत्रको रुपमा रहेको सो क्षेत्रमा होमस्टे सञ्चालन हुनसके बिपन्न बाह्रघरे बासिहरुले आयआर्जनको बिकल्प पाउने देखिएको छ । यस सन्दर्भमा स्थानिय अयोध्यापुरी मध्यवर्ती उपभोेक्त समिति र वडा नं. ८ कार्यालय सकरात्मक रहेको त्यसका अध्यक्ष तथा वडाअध्यक्ष क्रमशः मथुराबहादुर भण्डारी र कृष्णराज अधिकारीले जनाउनुभयो ।

SwadeshPost