स्टार कप फुटबलमा चैनपुर, जितबाहन, दियो र ज्ञानज्योति दाेश्राे चरण प्रवेश

508
SwadeshPost

बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत चौथो दिनका खेलहरुबाट चैनपुर युवा क्लब, जितबाहन क्लब सेरूवा, दियो क्लब माडी र ज्ञानज्योति युवा क्लब भैरवपुर दाेश्राे चरण प्रवेश गरेका छन् ।

आजको पहिलो खेल विहान १० बजे चैनपुर फुटबल क्लब चैनपुर र युनाइटेड क्लब बिरञ्चीबिच भएकोमा ५–० को फराकिलो गोलअन्तरसहित चैनपुर फुटबल क्लब दोश्रो चरणमा पुगेको हाे । त्यसैगरी मध्यान्ह १२ बजे जितबाहन युवा क्लब गर्दी र साहारा युवा क्लब ब्रह्मपुरी ए बिच प्रतिस्पर्धा भएकोमा ३–१ गोलअन्तर सहित जितबाहन युवा क्लब बिजयी भयाे । त्यस्तै दिउँसो २ बजे दियो क्लब माडी र बर्डस नेपाल बघौंडाले प्रतिस्पर्धा गरेकोमा २–० गोलअन्तरसहित दियो क्लब माडी दोश्रो चरणमा प्रवेश गरेको छ । त्यसैगरी आज सम्पन्न चौथो तथा अन्तिम खेलमा ज्ञानज्योति युवा क्लब, भैरवपुर र जनकल्याण तमु समाज कल्याणपुर भिँडेकोमा निर्धारित समयसम्म खेल २–२ को बराबरी भएपछि टाइब्रेकरमार्फत ५–३ गोलअन्तर भई ज्ञानज्योति युवा क्लब, भैरवपुर दोश्रो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत भोलि बुधबार पाँचौ दिन ३ वटा खेलहरु सञ्चालन हुनेछन् । भोलि मध्यान्ह १२ बजेदेखि बाल्मीकी स्पोर्टस् क्लब, माडी–१, कल्याणपुर र चिरौली युनाइटेड क्लब बी प्रतिस्पर्धा गर्नेछन् । भोलिको दोश्रो खेल जनआस्था युवा क्लब, माडी–६ बसन्तपुर र अयोध्यापुरी फुटबल क्लब (एएफसी) अयोध्यापुरीबिच दिउँसो २ बजे हुनेछ भने भोलिको अन्तिम खेलमा प्रतिभा युवा क्लब सितलपुर र चैनपुर फुटबल क्लब (सिएफसी) चैनपुर बी दोश्रो चरणमा पुग्नका लागि स्पर्धा गर्नेछन् ।

प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो पुरस्कार शिल्ड मेडल र प्रमाणपत्रसहित क्रमशः ७५ हजार ५ सय ५५, ३७ हजार ५ सय ५५ र १० हजार रहेको छ । त्यसैगरी बेष्ट किपर, बेष्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी, हाइ स्कोरर तथा म्यान अफ द म्याचलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको सहयोगी संस्था माडी नगर युवा खेलकुद तथा साँस्कृतिक समिति रहेको छ भने आधिकारिक मिडिया स्वदेस एफ. एम. ९३.२ मेगाहर्ज रहेको छ ।

यसैबिच, हरेक दिन खोलिने चिठ्ठा अन्तरगत आज १२३५ नं.को चिठ्ठा परेको छ । सो नम्बरको टिकट खरिद गरेका दर्शकले भोलि दिनभरमा आयोजक स्टार स्पोर्टस् क्लबलाई सम्पर्क गरी आफ्नो उपहार ग्रहण गर्न आयोजकले अनुरोध गरेको छ । चिठ्ठा बिजेताले एकवटा हाँस पाउने व्यवस्था रहेको जनाइएको छ ।

SwadeshPost