माडी नगरपालिका द्वारा अा.व. २०७४–७५ काे सार्वजनिक सुनुवाई सम्पन्न

115
SwadeshPost

माडी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बसन्तपुरले दुई महिना ढीला गरी शुक्रबार आर्थिक बर्ष २०७४÷७५ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतामा बसन्तपुर बजारको खुला मञ्चमा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिकाका पदाधिकारी, कर्मचारी, राजनैतिक दलका प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधी, पत्रकार, विभिन्न क्षेत्रका सरोकारवाला र स्थानीयबासीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसीले नगरपालिकाको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।माडी नगरपालिकाले गत आर्थिक बर्षमा सम्पन्न गरेका विकासे कार्यक्रमहरुसंगै विद्युत, सडक, शिक्षा, पुर्वाधार विकास, जंगली जनावरबाट भोग्नु परेका समस्या लगायतका बिषयमा सार्वजनिक सुनुवाईमा प्रश्न उठेको थियो । स्थानीयबासीहरुले सोधेका प्रश्नको जवाफ दिँदै नगर प्रमुख ठाकुर ढकालले नगरपालिकालाई सबैको सल्लाह, सुझाव, प्रतिक्रिया, माया र गाली आवश्यक रहेको जनाउनुभएको थियो ।
नगरपालिकामा जनप्रतिनिधीहरु निर्वाचित भएको १ बर्ष पुरा भइसक्दा पनि सार्वजनिक सुनुवाई हुन नसकेको भन्दै चौतर्फी आलोचना भइरहँदा नगरपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । स्थानीय निकाय सञ्चालन कार्यबिधीले चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्नुपने स्पष्ट निर्देश गरेको भएपनि माडी नगरपालिकाले गत आर्थिक बर्षमा कुनैपनि सार्वजनिक सुनुवाई गरेको थिएन । शुक्रबार सम्पन्न सुनुवाई कार्यक्रममा पनि सो कार्यबिधीले निर्दिष्ट गरेको नागरिक अभिमत प्रतिवेदन र बर्हिगमन अभिमत प्रतिवेदन भने प्रस्तुत गरिएन ।

त्यस्तै, माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हरिदत्त कंडेललाई दिइएको छ । त्यसैगरी माडी नगरपालिकाको लेखा अधिकृतको जिम्मेवारी सुरेश कुमार अधिकारीलाई दिइएको छ । यस अघिसम्म नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहनुभएका कृष्ण प्रसाद जैसी आजको सार्वजनिक सुनुवाईमा सहभागी भएसंगै बिदाई हुन लाग्नुभएको हो । त्यसैगरी माडी नगरपालिका वडा नं ६ मा संचालन हुन लागेको दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयको क्याम्पस प्रमुखमा पुष्पराज पौडेल नियुक्त हुनुभएको छ । माडीबासी समेत रहनुभएका पौडेलको अगुवाईमा शिक्षालयको काम तीब्रगतिमा अगाडि बढ्ने सि.टि.इ.भि.टी.ले विश्वास लिएको जनाएको छ ।

SwadeshPost