रेडक्रसद्वारा सडक नाटक प्रदर्शन तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न

348
SwadeshPost

विश्व प्राथमिक उपचार दिवसको अवसरमा सडक दुर्घटनामा प्राथमिक उपचार भन्ने नारासहित -यालीसहित सडक नाटक प्रदर्शन तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको आह्वानमा माडीका गर्दी, बघौंडा, कल्याणपुर र अयोध्यापुरी रेडक्रस उपशाखाहरुको संयुक्त आयोजनामा बसन्तपुर बजारमा सो जिल्लास्तरीय कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी उपशाखा बघौंडाका सभापति भागीराथ बस्यालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि रेडक्रस चितवन शाखाका उपसभापति विदुर के.सी. रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि के.सी. ले विद्यालय तथा क्याम्पस तहमा प्राथामिक उपचार र यसको महत्वको विषयमा छुट्टै पाठ्यक्रम सञ्चालन गर्न शिक्षा मन्त्रालयमा लबिङ भइरहेको बताउनुभयो । प्राथामिक उपचारको विषयलाई समुदायमा आधारित बनाउन जिल्ला रेडक्रस शाखाले गाउँगाउँमा आमा समुह, टोल सुधार समिति र हरेक विद्यालय तथा क्याम्पसहरुमा लैजान विशेष पहल गरिरहेको पनि बताउनुभयो ।

त्यस्तै, सभाध्यक्ष बस्यालले माडीमा ठूला बाढीहरु आउने, ठाडा खोलाहरुले ठुलो क्षती पु-याउने र जङगली जनावर र सर्पदंशको समस्यापनि उत्तिकै रहेकोेले प्राथामिक उपचारबारे सबैलाइ जानकारी दिन जरुरी रहेको बताउनुभयो । जुनियर तथा युवा रेडक्रस सर्कलका विद्यार्थीहरुलाई दक्ष प्रशिक्षकहरुबाट तालिम प्रदान गरी प्राथामिक उपचारमा अब्बल बनाउन सके थुप्रै समस्याहरु हल हुने उहाँको भनाई थियो ।

रेडक्रस कल्याणपुरका उपशाखा सभापित रामकृष्ण अधिकारीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा माडी क्षेत्रमा रहेका जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कल लगायत अन्य संघसंस्थाहरु, माडीका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी एवं शिक्षकहरु, इलाका प्रशासन कार्यालय, शसस्त्र प्रहरी बल छरछरे, विभिन्न वडाका वडाअध्यक्षहरु र सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अफिसियल मिडिया स्वदेश एफ.एम. रहेको थियो ।

SwadeshPost