बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ को उपाधीका लागि चैनपुर फुटबल क्लब ए र स्टार स्पोर्टस् क्लब बी भिँड्ने भएका छन् ।
आज बाह्रौं दिन सम्पन्न सेमीफाइनल चरणको पहिलो खेल दिउँसो २:३० बजेपछि चैनपुर फुटबल क्लब ए र जनआस्था युवा क्लब, माडी–६, बसन्तपुरबिच भएकोमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमा ४–२ गोलअन्तरसहित चैनपुर फुटबल क्लब ए बिजयी भई फाइनल प्रवेश गरेको हो । खेलको म्यान अफ द म्याच जनआस्था युवा क्लबका ९ नम्बर जर्सी लगाई खेल्नुभएका धर्मराज महतो घोषित हुनुभएको छ । त्यसैगरी दोश्रो खेल करीब ४:३० बजे स्टार स्पोर्टस् क्लब क्लब बी र बर्डस् नेपाल बघौंडा ए बिच भएकोमा ३–२ गोलअन्तरसहित बिजयी हुँदै स्टार स्पोर्टस् क्लब क्लब बी फाइनल प्रवेश गरेको छ । सो खेलमा म्यान अफ द म्याच भने कसैलाई घोषित गरिएन ।
फाइनल प्रवेश गरेका आजका दुई विजेता टोलीहरु चैनपुर फुटबल क्लब ए र स्टार स्पोर्टस् क्लब बी बिचको रोमाञ्चक खेल भोली भदौ २८ गते दिउँसो ३ बजेपछि सञ्चालन गरिनेछ । त्यसैगरी सेमीफाइनलमा पराजित आजका दुबै टोलीहरु जनआस्था युवा क्लब, माडी–६, बसन्तपुर र बर्डस् नेपाल बघौंडा भोलि बिहान ११ बजेपछि तेश्रो स्थानका लागि भिँड्नेछन् । प्रतियोगिताको पुरस्कार र प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम साँझ ५ बजे आयोजना हुनेछ । माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सञ्चालन हुने सो कार्यक्रममा माडी नगर युवा खेलकुद तथा साँस्कृतिक समितिका संयोजक हरि भुसालसंगै विभिन्न वडाका वडाध्यक्ष र अन्य अतिथिहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो पुरस्कार शिल्ड मेडल र प्रमाणपत्रसहित क्रमशः ७५ हजार ५ सय ५५, ३७ हजार ५ सय ५५ र १० हजार रहेको छ । त्यसैगरी बेष्ट किपर, बेष्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी, हाइ स्कोरर तथा म्यान अफ द म्याचलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको आधिकारिक मिडिया स्वदेस एफ. एम. ९३.२ मेगाहर्ज रहेको छ ।