काँग्रेस वडा समितिहरुले वडा कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाए

164
SwadeshPost

नेपाली काँग्रेसका विभिन्न वडा समितिहरुले हिजो सम्बन्धित वडा कार्यालयहरुमा ध्यानाकर्षण तथा सचेतना पत्र बुझाएका छन् । हिजो काँग्रेसले माडी नगरपालिका वडा नं. १, ३ र ६ मा ध्यानाकर्षण तथा सचेतना पत्र बुझाएको हो ।

माडी नगरपालिका वडा नं. १ को वडा कार्यालय, बरुवामा काँग्रेस वडा नं. १ का सभापति हेमलाल ढकाल, रामचन्द्र महतो, काँग्रेस महासमिति सदस्य छबिलाल भट्टराई, काँग्रेस क्षेत्रीय उपसभापित जय नारायण लामिछाने लगायतको वडास्तरीय टोलीले वडाध्यक्ष कृष्ण प्रसाद पौडेललाई ध्यानाकर्षण तथा सचेतना पत्र हस्तान्तरण गरेको हो । त्यसैगरी काँग्रेस वडा नं. ३ ले हिजो वडा सभापति शिवराम चापागाईं तथा वडा सदस्य नवल किशोर चौधरीको नेतृत्वमा माडी नगरपालिका वडा नं. ३ को कार्यालय, बसन्तपुरमा वडाध्यक्ष पुरन महतोलाई ध्यानाकर्षण तथा सचेतना पत्र बुझाएको छ । उता, नेपाली काँग्रेस माडी नगरपालिका वडा नं. ६ को वडा समितिले वडा सभापति बामदेव चापागाईं र प्रेम जैसी लगायतको नेतृत्वमा माडी नगरपालिका वडा नं. ६ को कार्यालय, कल्याणपुरमा वडाध्यक्ष भरत बहादुर गुरुङलाई ध्यानाकर्षण तथा सचेतना पत्र बुझाएको छ ।

ध्यानाकर्षण तथा सचेतना पत्रमार्फत वडा कार्यालयद्वारा लागु गरिएको करको कर प्रणालीको आलोचना गर्दै काँग्रेसले त्यसलाई सहुलियत गर्न अनुरोध गरेको छ । त्यसैगरी सुकुम्बासी समस्याको समाधानमा वडा कार्यालयले पर्याप्त काम नगरेको, विकास निर्माणको काममा सुस्तता भएको र योजना तथा उपभोक्ता समितिहरु गठन गर्दा अन्य पक्षहरुलाई नसमेटिएको आरोप लगाइएको छ ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै सम्बन्धित वडाका वडाध्यक्षहरुले वडा कार्यालयबाट हल हुनसक्ने कामहरु वडामार्फत हल गर्ने जनाउँदै वडाको विकास निर्माणमा सबै पक्षहरुलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । काँग्रेसले केन्द्रदेखि स्थानीय तहसम्म सचेतना पत्र बुझाउने केन्द्रीय कार्यक्रम अन्तरगत पहिलो चरणको कार्यक्रमका रुपमा हाल ध्यानाकर्षण, सचेतना वा ज्ञापन पत्रहरु बुझाउँदै आएको छ ।

SwadeshPost