सवारी चालकहरुले अाह्वान गरेकाे यातायात बन्दका कारण यात्रुलाई सास्ती

286
SwadeshPost

सवारी चालकहरुले अाह्वान गरेकाे यातायात बन्दकाे आज पनि माडीसंगै सबैतिर प्रभाव परेको छ । माडी ठोरी रुटमा मोटरसाईकल, ट्याकटर र निजी सवारी साधन चले पनि सार्वजनिक सवारी साधनहरु भने अझैपनि सञ्चालन हुन सकेका छैनन् । सोमबार बिहानैदेखि यातायातका सवारी साधनहरु सञ्चालन नहुँदा माडीका यात्रुलाई सास्ती भइरहेको छ ।

सार्वजनिक सवारीसाधनका चालकहरुले सरकारले बनाएको नयाँ यातायात कानुनको संशोधनको माग राख्दै सवारी साधनहरु नचलाउँदा माडीमा भरतपुर माडी ठोरी रुटमा चल्ने यातायात सेवा ३ दिनदेखि ठप्प छन् । बन्दका कारण आपतकालीन अवस्थामा यात्रुहरुलाई राजधानी लगायत अन्य ठाउँमा आवतजावत गर्न नपाउँदा यात्रुहरु अलपत्र परेका छन् । ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सोमबार बिहानै देखि पुर्वपश्चिम राजमार्ग र नारायणगढ–काठमाण्डौ, रुटमा फ्याट्फुट्ट मात्र सार्वजनिक यातायात चलेका छन् । त्यस्तै, भरतपुर महानगरक्षेत्रमा भने नगरबस, अटो, म्याजिक कमै मात्रामा चलेको बताइएको छ ।

उता, सार्वजनिक सवारीसाधनका चालकहरुको सोमबारदेखिको बन्दका कारण सर्वसाधरणहरुलाई सास्ति भइरहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । आफ्नो माग पुरा गर्न अन्य बिकल्प नखोजि बन्द आव्हान गरेपश्चात त्यसको प्रत्यक्ष मार सर्वसाधरणलाई परेको छ जसकारण सर्वसाधरण अत्यावश्यक अवस्थामा पनि आफ्नो गन्तब्यमा पुग्न सकेका छैनन् । जतिसक्दो चाँडो बन्दको बिकल्प खोजि यातायात सुचारु गर्न सार्वजनिक सवारीसाधनका चालकहरुलाई आग्रह गरिएको छ ।

SwadeshPost