माडीमा बाढी तथा जंगली जनावरको सुचक अलार्मले अपेक्षित काम गरेन

187
SwadeshPost

माडी नगरपालिका – ८, खरकट्टामा रहेको बाढी तथा जंगली जनावरको प्रवेश सुचक अलार्मले अपेक्षित काम गर्न सकेको छैन । रीउ नदीमा बाढी आउन लागेको पूर्वसुचना सम्प्रेषण गरी नदी वरपरका बासिन्दाहरुलाई सचेत बनाउने उद्देश्यले करीब ३ बर्षअघि माडीको बनकट्टासंगै खरकट्टामा माइकसहितको अलार्म जडान गरिएको थियो । तर अलार्मको आवाज क्रमशः न्यून हुँदै गएको र अलार्म बजाउने रिमोट शोमेश्वर प्रहरी चौकीमा राखिएकोमा समयकै रिमोट नचल्ने गरेकाले अलार्म प्रभावकारी हुन नसकेको स्थानीयबासी सानु थापा क्षेत्रीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

हात्ती लगायतका जंगली जनावर नजिकै आइपुगेपनि अलार्म बजाउने रिमोट कन्ट्रोल प्रहरी कार्यालमा मात्र रहेकाले पहिले त्यहाँ फोन गर्नुपर्ने र त्यसपछि मात्रै अलार्म बजाइने गरेकोले प्रायः ढीला हुने गरेको र त्यसकारण अलार्मको प्रभावकारिता झनै न्यून भएको अलार्मको टावर राख्न आफ्नो जमीन प्रदान समेत गर्नुभएका सानु थापाक्षेत्रीको भनाई छ ।

यसैबिच, सुरुवाती दिनहरुमा अलार्म बज्दा हात्ती लगायतका जंगली जनावरहरु भाग्ने गरेकोमा पछिल्ला दिनहरुमा हात्तीले अलार्मको आवाजलाई वास्ता गर्न छाडेको स्थानीयबासीहरु बताउँछन् । जंगली जनावरहरुलाई बस्ती छिर्नबाट रोक्न मेसजाली लगाइएकोमा त्यसले घरपालुवा जनावरलाई मात्र छेक्ने गरेको र जंगली जनावरहरु त्यहाँबाट पनि सहजै छिर्ने गरेको उनीहरुको भनाई छ ।

SwadeshPost