क्यान्सरबारे माडीका एक क्यान्सर पीडित युवाद्वारा सचेतना अभियान सञ्चालन

397
SwadeshPost

प्राणघातक क्यान्सर रोग लाग्ने कारण र त्यसबाट बच्ने उपायका बिषयमा माडीका एक क्यान्सर पीडित युवाले सार्वजनिक सचेतना अभियान सञ्चालन गरिरहेका छन् । माडी नगरपालिका वडा नं. ८, चौकीडाँडा निवासी तिलक मगरातीले आम युवाहरुलाई क्यान्सर रोगका बिभिन्न पक्षहरु बारे व्यक्तिगत तवरबाट सचेतना अभियान सञ्चालन गरिरहनु भएको हो ।

क्यान्सरका कारक तत्वहरु चुरोट, सुर्ती, गुड्खा तथा मदिरा सेवन नगर्न उहाँले आम युवाहरुलाई आफ्नो कथाव्यथा सुनाउँदै आह्वान गर्दै आउनुभएको छ । गाउँघरमा कसैले गुड्खा, चुरोट, सुर्ती वा लागुपदार्थ सेवन गरिरहेको भेटिए उहाँले सम्झाउने बुझाउने गरी सो कुलत छोड्न प्रेरित गर्दै आउनुभएको छ । उहाँका कुरा सुनेका कतिपय युवा तथा कुलतमा परेका हरुलेआफ्नो आनीबानी सुधार गरेको उहाँले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

सुरुवातमा चुरोट, सुर्ती, गुड्खा तथा मदिराको अत्यधिक सेवन गर्ने कुलत रहेका उहाँलाई सोही कारणले जिब्रोको क्यान्सर लाग्यो । २०७३ सालमा भरतपुरस्थित बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालले उहाँलाई क्यान्सर रोग लागेको पहिचान गरी उपचार सुरु ग¥यो । सो अस्पतालले मगरातीलाई २०७४ सालमा शल्यक्रिया गरी जिब्रो काटेर क्यान्सर फैलनबाट रोक्ने उपचार सुरु गरेको थियो । हाल आफ्नोको स्वास्थ्य अवस्था स्थिर अवस्थामा रहेको र क्यान्सर निको हुँदै गएको उहाँको भनाई छ । अबको बाँकी जीवन क्यान्सरजन्य रोगको सचेतना कार्यमै व्यतित गर्ने उहाँको भनाई छ ।

आफै क्यान्सर रोगसंग लडेका मगरातीलाई आफ्नो पुरानो कुलतजन्य आनीबानीप्रति अत्यन्त पछुतो हुने गरेको छ । त्यसैले उहाँले माडीसंगै देशैभरका युवाहरु पछिल्ला दिनहरुमा कुलतमा फँस्दै जीवन बर्बाद गरिरहेको देखी त्यसलाई रोकथामका लागि आफ्नै कथाव्यथा सुनाउँदै गाउँटोल पुगी व्यक्तिगत प्रयासमा सचेतना अभियान चलाई रहनुभएको हो । आफ्नो प्रयासरमा स्थानीय वडा कार्यालय, माडी नगरपालिका र विभिन्न संघसंस्थाहरुले सहयोग गरे अझ धेरै र सशक्त तरिकाले जनजागरण अभियान चलाउन सकिने उहाँको बिचार छ ।

SwadeshPost