दलित समुदायलाई मुलधारमा ल्याउन व्यवसायिक बनाउनुपर्नेमा जाेड

429
SwadeshPost

स्थानीय सरकार तथा सरोकारवालाहरुले समुदायिक विकासका दृष्टिबाट पिंधमा रहेका दलित समुदायलाई व्यवसायिक बनाउने विशेष कार्यक्रम सञ्चालन गर्न माडीका दलित समुदायले माग गरेका छन् । माडीको बसन्तपुरस्थित वडा नं. ३ कार्यालयमा शनिबार सम्पन्न माडी नगरपालिका वडा नं. ३ का दलित समुदायको भेलाका सहभागीहरुले दलित समुदायलाई विकासको मुल प्रवाहमा ल्याउन व्यवसायिकरणमा जोड दिएका हुन् । त्यसैगरी सो कार्यक्रमका सहभागीहरुले दलित समुदायको समस्या पहिचान गरी समाधानका लागि दलितको एकतामा समेत जोड दिएका छन् ।

वडाका दलित महिला सदस्य कुमारी विश्वकर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी नगर दलित समन्वय समितिका संयोजक डिल बहादुर गायक प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी वडा नं. ३ का वडाध्यक्ष पुरन महतो, वडा नं. ५ का वडाध्यक्ष रामबन्धु पोखरेल, दलित समन्वय समितिका सचिव इन्दिरा विश्वकर्मा, दलित सामाजिक अगुवा कमल रामदाम र बलबहादुर परियार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दैै नगर दलित समन्वय समितिका सचिव इन्दिरा विश्वकर्माले दलित क्षेत्रका लागि माडी नगरपालिकाले सञ्चालन गर्न लागेको योजनाहरुबारे जानकारी गराउनुभयो । त्यसैगरी दलित सामाजिक अगुवा कमल रामदाम र बलबहादुर परियारले दलित समुदायले भोग्नुपरेको समस्याका बारेमा चर्चा गर्नुभएको थियो । माडीका सबै वडाहरुमा दलित भेला आयोजना गर्ने योजना रहेको माडी नगर दलित समन्वय समितिका संयोजक डिल बहादुर गायकले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost