माडीकाे कालोपत्रे बाटो निर्माण कार्य निर्धारित समयमा पुरा हुन नसक्ने

208
SwadeshPost

रीउ नदीको पुलदेखि घाँघर खोलासम्म कालोपत्रे बाटो बनाउने ठेक्का पाएको आशिष निर्माण सेवाले निर्धारित समयमा काम पुरा गर्न नसकिने जनाएको छ । आशिष निर्माण सेवाले कालोपत्रे गर्न आवश्यक गिट्टी, बालुवा, कंक्रिट, चिप्स लगायतका सामानको अभाव देखाउँदै निर्धारित समयमा काम पुरा गर्न नसक्ने जनाएको हो । सडकमा सब ग्रेड, ग्राभेल (सब वेश) र कालोपत्रेको सम्पूर्ण काम बाँकी रहेको छ । स्वदेश एफ.एम.को दैनिक बहसमुलक कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै आशिष निर्माण सेवा अन्तरगतको भरतपुर माडी ठोरी हुलाकी बाटोका कन्ट्रयाक्ट म्यानेजर रोहित भट्टराईले हाल माडीको सडकको स्ट्रक्चरका कामहरु पुरा भएको जनाउनुभयो ।

स्ट्रक्चरका कामहरु अन्तरगत नाला कल्भर्ट, टेवा पर्खाल, ह्युमपाइप र ढुंगाको ग्याबिन जाली निर्माण गरिएको हो । करीब ७ मिटर चौडाई रहने कालोपत्रे बाटोको दुबै छेउमा नाला सहित १० मिटर चौडाई कायम रहने र नालाको निर्माण कार्य सकिएको भट्टराईको भनाई छ । २०७३ साल माघमा सर्भे गरी काम सुरु गरेको आशिष निर्माण सेवाले गतबर्षको बैशाखबाट निर्माणकार्य सुरु गरेको हो । ठेक्काको म्याद आउँदो माघ ९ गतेसम्म रहेपनि सो मितिमा काम नसकिने स्पष्ट पार्दै कम्पनीले ठेक्काको म्याद थप गर्न सडक विभागलाई आवेदन गर्ने जनाएको छ ।

कंक्रिट लगायतका निर्माण सामग्री उपलब्ध गराउन अस्थायी क्रसर प्लाण्ट राख्न खोजेको भएपनि नपाएको कन्ट्रयाक्ट म्यानेजर भट्टराईले जनाउनुभयो । माडी नगरपालिकाले आफ्नै क्रसर मेसिन राख्नका लागि टेण्डर गर्न लागेकोले नगरपालिकाको क्रसर प्लाण्टबाट कंक्रिट, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री खरिद गरी काम गर्ने उहाँको भनाई थियो । नगरपालिकाले क्रसरमार्फत निर्माण सामग्री उपलब्ध गराएको छ महिनाभित्र काम पुरा हुने कम्पनीले जनाएको छ ।

SwadeshPost