गर्दी र अयोध्यापुरी साना किसान कृषि सहकारीको पाँचौ साधारणसभा सम्पन्न

386
SwadeshPost

गर्दी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ साधारण आज सम्पन्न भएको छ । साधारण सभाले सदस्यहरुको बिमाको प्रस्ताव, आर्थिक वर्ष ७४/७५ वार्षिक प्रगति प्रतिवेदन अनुमोदन, लेखा समितिको प्रगति प्रतिवेदन अनुमोदन, आर्थिक वर्ष ७५/७६ को लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, विनियम संसोधन, नगरापालिका संग कृषि उद्यमका लागि अनुदान सहयोग माग गर्ने लगायतका विषयहरुमा निर्णयहरु पारित गरेको छ ।

संस्थाका अध्यक्ष धनरजिया चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमा प्रमुख अतिथि माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकाल रहनुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिका रुपमा माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतो, जिल्ला कृषि संघ लिमिटेडका अध्यक्ष हरिप्रसाद पौडेल, माडी नगरपालिका वडा नं २ का अध्यक्ष तथा सहकारी विभाग संयाेजक ईश्वरी प्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा करिब ६०० सेयर सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष तारा पोख्रेलले राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी प्रबन्धक लक्ष्मी कँडेलले गर्नुभएको थियो ।

यसैबिच, अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभा पनि सम्पन्न भएको छ । आजको साधारणसभाले नगरपालिकासंग अनुदान रकम माग गर्ने, लेखापरिक्षण प्रतिवेदन स्विकृत गर्ने, लेखापरिक्षकको नियुक्ती गर्ने, विनियम संसोधन लगायतका निर्णयहरु पारित गरेको छ भने भावी कार्ययोजनाहरुमा सदस्यहरुलाई निक्षेपमा उचित ब्याज प्रदान गर्ने, संस्थाको लागि आवश्यक पर्ने कम्प्युटर प्रिन्टर लगायतका सामाग्रीहरु खरिद गर्ने निर्णयसमेत गरेको संस्थाकी प्रबन्धक लक्ष्मी लामिछानेले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्था अध्यक्ष जानकीदेवी पौडेल सभाध्यक्ष रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरु माडी नगरपालिका वडा नं ७, ८ र ९ का वडाअध्यक्षहरु क्रमशः बालकृष्ण सापकोटा, कृष्णराज पौडेल र शिबहरी सुवेदी, जिल्ला कृषि संघ लि. का अध्यक्ष हरि पौडेल, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारी रहनुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष सरिता पराजुली पौडेलले राख्नुभएको थियो भने, कार्यक्रम सञ्चालन संस्थाकी प्रबन्धक लक्ष्मी लामिछानेले गर्नुभएको थियो ।

SwadeshPost