चौकीडाँडाका दलित अझैपनि पुरानै र दुःखजिलो जीवनयापन गर्न बाध्य

356
SwadeshPost

चौतर्फी समृद्धिको नारा घन्किइरहँदा मध्यपूर्वी माडीको चौकीडाँडा क्षेत्रका दलित समुदाय भने अझैपनि पुरानै र दुःखजिलो जीवनयापन गर्न बाध्य रहेका छन् ।

चौकीडाँडा निवासी शुसिल परियार उमेरले ७५ बर्ष पुग्नुभयो तर हरेक दिन स्थानीय बैकुण्ठेश्वर मध्यवर्ती सामुदायिक बनमा गई झिँझा दाउरा बटुल्ने उहाँको जीवनशैली उस्तै छ । जग्गा जमीनका नाउँमा उहाँसंग २ कठ्ठा जमीन छ, तर सिंचाई लाग्दैन । परिवारमा छोरा बुहारीसंगै दुई नातीहरु छन् । तर सम्पूर्ण परिवार उनै ७५ बर्षका शुसिल परियारको काँधमा निर्भर छ । उहाँ दैनिक रुपमा जंगल गई सकेजति जर्ना दाउरा संकलन गरी भारी बनाई घर फर्किनुहुन्छ । कहिलेकाँही स्थानीय बजारमा लगी दाउरा बिक्री गरी नुनतेल खरिद गर्नुहुन्छ । उहाँको जीवनशैली बर्षौदेखि उस्तै रहिआएको छ ।

शुसिल परियार प्रतिनिधी पात्र मात्र हुन् । उहाँसंगै चौकीडाँडा, इन्द्रबस्ती र कान्तिपुरका दलित बस्तीको जनजीवन मिल्दोजुल्दो छ । सो क्षेत्रमा रहेका चेपाङ समुदायलाई राज्यले प्राथमिकतामा राखी भत्ता र रकम बाँडेको तर दलित भएकाले आफूहरुले चाँही खासै केहि नपाएको उहाँहरुको गुनासो रहेछ । माडी क्षेत्र नगरपालिका घोषित भई विकासको गतिमा लम्किइरहेको भएपनि चौकीडाँडा, इन्द्रबस्ती र कान्तिपुर क्षेत्रमा भने नगरपालिकाको ध्यान नपुगेको उहाँहरुको गुनासो रहेको हाम्रा पूर्वी माडी सहकर्मी भुपेन्द्र गीरिले जनाउनुभएको छ ।

SwadeshPost