मत्स्य ब्लकका कृषकहरुले अनुदान रकम पाउन अझै केहि दिन लाग्ने

192
SwadeshPost

मत्स्य ब्लकका कृषकहरुले पोखरी खनेबापत पाउनुपर्ने अनुदान रकम पाउन अझै केहि दिन लाग्ने भएको छ । केहि कागजात नपुग रहेको भन्दै माडी नगरपालिका कार्यालयले फाइल अध्ययनका लागि थप केहि दिन माग गरेसंगै अनुदान रकम निकाशा हुन थप समय लाग्ने भएको हो ।

बुधबार नगरपालिकाका कार्यकारी अधिकृत हरिदत्त कँडेल र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत मत्स्य ब्लकका कृषकहरुबिच छलफल भएको थियो । सौहार्दपूर्ण वातावरणमा सम्पन्न आजको छलफलमा फाइल अध्ययन हुँदा नपुग भेटिएका कागजातहरु पुरा गर्न मत्स्यपालक कृषकहरु पनि तयार भएका छन् ।

यसअघि, असोज १५ गते मत्स्य ब्लकका कृषकहरुले माडी नगरपालिका घेराउ गर्दा अप्रीय अवस्था सिर्जना भएको थियो । गत आर्थिक बर्षमा मत्स्यब्लक कार्यक्रम अन्तरगत रु ८० लाख बजेटबाट मत्स्यपालन विकासका लागि विभिन्न योजना तथा कार्यक्रमहरु सञ्चालन गरिएकोमा साझेदारी अन्तरगत पोखरी खन्ने कार्यक्रम समेत भएको थियो । तर नगरपालिका, मत्स्य ब्लक र कृषकहरुबिच त्रिपक्षीय सम्झौता भई पोखरी खनेका भएपनि सो बापत किसानहरुले पाउनुपर्ने रकम भने निकाशा नभएको हो । रकम निकाशाको कार्यमा अवरोध गरेको आरोप लगाउँदै आक्रोसित किसानहरुले नगरपालिका घेराउ गर्दा कर्मचारीउपर हातपात र दोहोरो भनाभन जस्तो अप्रीय अवस्था सिर्जना भएको थियो ।

SwadeshPost