माडी नगरपालिकाले बनकट्टाबाट सुकीभारसम्म हात्ती सफारीको व्यवस्था गर्ने

329
SwadeshPost
पर्यटन प्रवर्दनका लागि माडी नगरपालिकाले बनकट्टाबाट चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको सुकीभार सम्म हात्ती सफारीको व्यवस्था गर्न लागेको जनाएको छ । पश्चिमी माडीको बनकट्टाबाट डेड किलोमिटर दूरीमा रहेको सुकीभार क्षेत्रमा हात्ती सफारी व्यवस्था गर्न लगिएको माडी नगर प्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो । सुकिभार क्षेत्र एकसिंगे गैंडाको अधिक बासस्थान भएको क्षेत्र हो । पहिले ठूलो गाउँ रहेको सो क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज घोषित हुने समयमा माडीमा स्थानान्तरण गरिएको थियो ।
चारैतिर निकुञ्ज र मध्यवर्ती वन क्षेत्रले घेरिएको माडीबासीले बन्यजन्तुको मार सहे पनि पर्यटकीय लाभ भने लिन पाएका छैनन् । महत्वपूर्ण पर्यटकीय गन्तव्य भएर पनि माडी ओझेलमा परेको छ । हालसम्म माडी क्षेत्रबाट जीप र हात्ती सफारी जस्ता पर्यटकीय गतिविधि सञ्चालन हुन सकेको छैन ।निकुञ्जमा हरेक वर्ष दुई लाख हाराहारीमा पर्यटक भित्रिने गरेपनि माडी क्षेत्रमा भने ती पर्यटक पुग्न सकेका छैनन् । सदरमुकाम भरतपुरबाट ४० किलोमिटर दक्षिणमा पर्ने माडी धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना भएको क्षेत्र हो । माडीको पूर्वी क्षेत्रमा ठोरी गाउँपालिकाको मध्यवर्ती वन, पश्चिममा भारतीय सीमामा जोडिएको वन, उत्तरमा चितवन राष्ट्रिय निकुञ्ज तथा दक्षिणमा चुरे पहाड र भारतीय सीमा क्षेत्र पर्दछ ।
निकुञ्जसँगै सोमेश्वर, सोमेश्वर कालिका, त्रिवेणीधाम, वाल्मीकि आश्रम, गोद्धक (परशुराम कुण्ड), पाण्डवनगर, बैकुण्ठेश्वर धाम एवं महादेव मन्दिर, सीता गुफा, विक्रमबाबा जस्ता महत्वपूर्ण धार्मिकस्थल माडी क्षेत्रमा रहेका छन् । थारु, गुरुङ, मगरलगायतको साँस्कृतिक हिसाबले धनी समुदायको बसोबास रहेकाले माडीको पर्यटकीय सम्भावना अत्याधिक छ ।
SwadeshPost