शारीरिक अपाङ्गता भएकाहरुलाई माडीमा ह्वील चेयर र ट्राइसाइकल वितरण

185
SwadeshPost

माडी नगर अपाङ्ग उत्थान समन्वय समितिको आयोजनामा अाइतबार माडीका शारीरिक अपाङ्गता भएकाहरुलाई ह्वील चेयर र ट्राइसाइकल वितरण गरिएको छ । राष्ट्रिय अपांग पुनस्र्थापना समाज, अनामनगर काठमाडौं र माडी नगरपालिकाको आर्थिक सहयोगमा माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा १३ वटा ह्वील चेयर र एकवटा ट्राइसाइकल वितरण गरिएको हो । माडी नगरपालिका कार्यालयको ३ लाख रुपैंया लागत सहभागिता र बाँकी रकम राष्ट्रिय अपांग पुनस्र्थापना समाज, अनामनगरले व्यहोर्ने गरी अाइतबार ह्वील चेयर र ट्राइसाइकल वितरण गरिएको हो ।

यसअघि सोही बजेट सहभागिताबाट कृत्रिम खुट्टा, बैशाखी र सेतो छडी लगायतका सहायता सामग्रीहरु वितरण भइसकेको माडी नगर अपांग उत्थान समन्वय समितिले जनाएको छ । समन्वय समितिका अध्यक्ष यम बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न अाइतबारको कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल तथा विशिष्ट अतिथि राष्ट्रिय अपांग पुनस्र्थापना समाज, अनामनगर काठमाडौंका उपाध्यक्ष सुगम भट्टराई रहनुभएको थियो । समन्वय समितिका सचिव भोजराज अर्यालले स्वागत मन्तव्य तथा चितवन जिल्ला अपाङ्ग उत्थान समन्वय समितिका सचिव यमप्रसाद सुवेदीले सञ्चालन गर्नुभएको सो कार्यत्रममा माडीका शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

SwadeshPost