माडीमा गरगहना र मोबाइल चोरी गरी फरार दुइजना पक्राउ

154
SwadeshPost

माडी कल्याणपुरमा बेहोस बनाई गरगहना र मोबाइल चोरी गर्ने दुईजनालाई चितवन प्रहरीले सार्वजनिक गरेको छ । घटनाको दोषीका रुपमा प्रहरीले मकवानपुर–९ चित्लाङ घर भई हाल तनहुँ देवघाटमा डेरा गरी बस्ने हरि गोले र कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ का कालु परियारलाई सार्वजनिक गरेको हो ।

गत असोज १२ राति माडी नगरपालिका–६ कल्याणपुरका भीमबहादुर सुनारको घरमा बास बस्न आएका एक महिला र पुरुष बास माग्न पुगेकोमा घरमा रहेका भीमबहादुरकी आमा मायाकुमारी र श्रीमती लाई आँपको जुसमा बेहोस् हुने औषधी मिसाएर पिलाएका थिए । दुबै बेहोस् भएपछि घरमा रहेको १५ तोला सुनका गरगहना र दुई थान मोबाइल लुटेर राति नै दुबैजना फरार भएका थिए । बेहोस् अवस्थामा रहेका सासु बुहारीलाई सेन्ट्रल अस्पताल भरतपुर लगेर आइसियुमा राखी उपचार भएकोमा ११ दिनको उपचारपश्चात् पनि सासु अर्धबेहोस् अवस्थामा रहेको र पाँच दिनको उपचारपछि बुहारी घर फर्किएकी छिन ।

प्रहरीले विशेष टेक्निकल अनुसन्धानमार्फत घटनाका मुख्य योजनाकार हरि गोलेलाई यस्तै प्रकृतिको घटना योजना बनाउँदै गर्दा बुटवल बसपार्कबाट समातेको हो । उनको साथबाट औषधी, इन्जेक्सन, टर्च, जुससहितको बोतल बरामद गरिएको थियो । पक्राउ परेका गोले र कालु परियारलाई ज्यान मार्ने उद्योग र चोरी कसुर अन्तर्गत कानुनी कारबाही अघि बढाइएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालले जानकारी दिनुभयो

SwadeshPost