जंगली हात्तीको आक्रमणबाट माडीमा एक किशोरको ज्यान गयाे

189
SwadeshPost

माडी नगरपालिका-३ रतनी गाउँमा जंगली हात्तीको आक्रमणबाट बिहीबार राती एक किशोरको ज्यान गएको छ । जंगली हात्तीको आक्रमणमा परी माडी–३, रतनी निवासी राजेश चौधरीका अन्दाजी १५ बर्षीय छोरा रबि चौधरीको ज्यान गएको घटनास्थलबाट बघौंडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रभुप्रसाद महतोले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । मृतक किशोर बसन्तपुरको माडी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थी रहेको उहाँका आफन्त जितेन्द्र मर्दनीयाले जनाउनुभयो । मृतकले बसन्तपुर बजारमा कपाल काट्ने काम समेत गर्दै आएका थिए ।

मध्यराती १२ बजे हात्तीले रबिलाई आक्रमण गरेको थियो । खेतमा धान कुर्न जाँदा हात्ती धपाउने ट्याक्टरको टोलीमा रहेका उनलाई जंगली हात्तीले कुल्चिएर मारेको हो । यतिखेर घटनास्थलमा बघौंडा मध्यवर्ती उपभोक्ता समिति, इलाका प्रहरी कार्यालय बसन्तपुर र नेपाली सेनाको टोली पुगिसकेको छ । घटनाको सम्पूर्ण विवरण आइपुगेको छैन ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जबाट निस्किने जंगली हात्तीहरुले माडी र ठोरी क्षेत्रको मानव बस्तीमा प्रवेश गर्ने क्रम बढेको छ । जंगली हात्तीको हुल पौहारी, धोबाहा, दिवानगर, हरिनगर, कृष्णनगर, कान्छी बगहीँ, प्याउली, खरकट्टा लगायतका गाउँहरुमा दैनिक रुपमा प्रवेश गरी बालीनाली विनाश गर्ने गरेका छन् । जंगली जनावर धपाउन ट्रेलर सहितको ट्याक्टरमा रातभर स्थानीयबासीले निकुञ्ज छेउका गाउँहरुमा गस्ती गर्ने गरेका छन् । तर पछिल्लो दिनमा गस्तीमा रहेका स्थानीयबासीहरु नै हताहती हुने घाइते हुन थालेका छन ।

SwadeshPost