माडीको महत्वपूर्ण पर्यटकीय केन्द्र तथा धार्मिकस्थल बाल्मीकि आश्रम ओझेलमा

326
SwadeshPost

माडीको गहनाका रुपमा रहेको महत्वपूर्ण पर्यटकीय केन्द्र तथा धार्मिकस्थल बाल्मीकि आश्रम यातायातको असुविधा र भौगोलिक विकटताका ओझेलमा परेको छ । माडीको पर्यटन विकासका लागि नगरस्तरीय पर्यटन विकास समिति बनेको भएपनि सो समितिले पनि बाल्कीकि आश्रमको बिषयमा पर्याप्त काम गर्न भने सकेको छैन ।

धार्मिक तथा ऐतिहासिक महत्वको सो क्षेत्रमा पुग्न पूर्व–पश्चिम राजमार्गको बर्दघाटबाट करिब २७ कि.मि. दक्षिण नवलपरासीको त्रिवेणी हुँदै जानुपर्छ । त्रिवेणीबाट डुंगामा नारायणी नदी तरेर पूर्वतर्फ करिब एक घन्टा जंगलको बाटो हिँडेपछि वाल्मीकि आश्रम पुगिन्छ । बर्सात्को समयमा भने यो बाटोबाट आश्रम पुग्न सकिँदैन भने अरू समयमा पनि जंगली जनावको डर रहिरहन्छ । नारायणी नदीमा भारतीयपक्षले बनाएको पुल तरेर विहारको वाल्मीकि नगरबाट करिब सात किलोमिटर भारतीय जंगलको यात्रा गरेपछि पनि आश्रम पुग्न सकिन्छ । तर, त्यताबाट हिँड्दा बाटोमा भारतीय सुरक्षाकर्मीबाट प्रशस्तै झमेला व्यहोर्नुपर्छ । मध्य नेपालको चितवन जिल्लामा रहेर पनि यो पवित्र भूमिसम्म पुग्न कुनै स्थायी बाटो नहुँदा जो कोहीको पनि मन कुडिँने गरेको छ ।

आश्रम स्थलमा रहेको सीताको मन्दिरभित्र उहाँले पाताल प्रवेश गरेको स्थान छ । वरिपरि लव-कुशले अश्वमेध यज्ञको घोडा पक्रिएर बाँधेको खम्बा, शिक्षा ग्रहण गरेको स्थान, पानी पिउने गरेको पुरानो इनार र अन्य पुरातात्विक र धार्मिक वस्तु अवशेषका रूपमा छन् । संसारमा बिरलै देखिने हनुमानले एउटा घुँडा टेकेको मूर्ती सीता मन्दिरबाहिर प्रतिष्ठापित छ । सीताले मसला पिस्ने गरेको सिलौटो पनि सुरक्षित राखिएको छ । ढुंगाको लौरोले महिलाले मसला पिसेमा पेटको रोग नहुने र उनीहरूले पकाएको खाना स्वादिष्ट हुने विश्वासले त्यहाँ पुग्ने महिला सिलौटोमा मसला पिस्न थालिहाल्छन्, तर उचित संरक्षण अभावमा ती अवशेष लोप हुने स्थितिमा पुगेका छन् । नेपाल-भारत सीमानजिक पर्ने यस स्थानमा अन्य देवीदेवताका मठमन्दिरहरु पनि छन् ।

SwadeshPost