माडी–६, स्याउलीबास स्कूल चोकमा निर्माणाधिन नवदुर्गा भवानी मन्दिरका लागि गजुर प्रदान

263
SwadeshPost

माडी नगरपालिका वडा नं. ६, स्याउलीबास स्कूल चोकमा निर्माणाधिन नवदुर्गा भवानी मन्दिरका लागि सहयोगस्वरुप गजुर प्राप्त भएको छ l मन्दिरका लागि स्व.तुल बहादुर कार्कीको सम्झनामा श्रीमती ओम कुमारी कार्की तथा छोरा बुहारी यम बहादुर कार्की र सृजना कार्कीले सहयोगस्वरुप गजुर प्रदान गर्नुभएको हो । यसअघि मन्दिरको लागि स्थानीयबासी आस बहादुर गोतामे तथा उहाँका छोराहरु राजकुमार गोतामे, जयकृष्ण गोतामे र सागर गोतामेले करीब ७० हजार पर्ने मुर्ती सहयोगस्वरुप उपलब्ध गराउनुभएको थियो । दुर्गा मन्दिर निर्माण समितिको पहलमा निर्माण भइरहेको सो मन्दिरको निर्माणकार्य जारी रहेको सन्दर्भमा समितिले निर्माणकार्यमा सघाउन सार्वजनिक आह्वान गरेको थियो ।

दुर्गा मन्दिर निर्माण समितिको पहलमा निर्माण भइरहेको सो मन्दिरको निर्माणकार्य पुरा गर्न करीब ८ लाख लागेको मन्दिर निर्माण समितिका अध्यक्ष सागर सुनारले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । स्याउलीबास गाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्य अन्तरगत दुर्गा मन्दिर क्षेत्रलाई धार्मिक श्रद्धास्थल तथा धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चिनाउन समुदायकै पहलमा मन्दिर निर्माण गरिएको निर्माण समितिका सल्लाहकार चुडामणी पाण्डेले जनाउनुभयो ।

SwadeshPost