कार्यालयको गाडी अनाधिकृत रुपमा प्रयोग नगरिएकाे माडी नगरपालिकाकाे जिकिर

400
SwadeshPost

माडी नगरपालिकाले सो कार्यालयको गाडी अनधिकृत रुपमा व्यक्तिगत कामका लागि प्रयोग नभएको जिकिर गरेकाे छ । माडीका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ मंगलबार नगरपालिका कार्यालयको बा. २ झ. १२४५ नम्बरको निसान पिकअप गाडीमा बोराहरु लोड भएको तस्बीरहरु भाइरल भएका थिए ।

आज बुधबार, माडी नगरपालिकाको सभाहलमा बहुपक्षीय बैठक आह्वान गरी माडी नगरपालिकाले नगरउपप्रमुख ताराकुमारी काजी महतो र कार्यकारी अधिकृत हरिदत्त कँडेल लगायतका अधिकारीहरु बाँदरझुलाको जनस्वास्थ्य इकाईको अनुगमन भ्रमणमा पुगेको र फर्किदा औषधी राखिएका केहि बोरा गाडीको पछाडी राखिएको दाबी गरेकाे हो । अनुगमनका क्रममा टोली बाँदरझुला पुगेको अवसरमै ठोरीस्थित नवनिर्मित ठुटेखोला पुलको अध्ययनका लागि नेपाल–भारत सीमा क्षेत्रसम्म पुगेको दाबी गरिएको छ । ठोरी पुगेको सन्दर्भमै प्रमुख प्रशासकीय अधिकृत लगायतका लागि आवश्यक केहि सामान स्थानीय बजारबाट खरिद गरेकोमा त्यो पनि गाडीमा राखिएको नगरपालिकाले स्वीकार गरेकाे हो ।

प्रमुख प्रशासकीय अधिकृतले गाडीको सुबिधा पाउने कानुुनी व्यवस्था रहेको र उहाँले बसन्तपुरमा डेरा गरी बस्ने हुँदा कतिपय घरायसी सामान चाहिने पक्ष औंल्याउँदै नगरपालिकाले यसबाट कार्यालयको गाडी अनधिकृत रुपमा व्यक्तिगत प्रयोजनमा प्रयोग भएको ठहर नहुने जिकिर गरेको हो । छलफल कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुसंगै भाइरल फोटोहरु पोष्ट गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरु समेत सहभागी रहेका थिए

SwadeshPost