बजार अनुगमन समितिद्वारा माडीको स्याउलीबास र खरकट्टा क्षेत्रको आकस्मिक अनुगमन

155
SwadeshPost

माडी नगरपालिका अन्तरगतको बजार अनुगमन समितिले विहीबार माडीको स्याउलीबास र खरकट्टा क्षेत्रको आकस्मिक बजार अनुगमन गरेको छ । बिहीबार बजार अनुगमनबाट पनि कतिपय पसलमा म्याद सकिएका खाद्यसामग्रीहरु भेटिएको र त्यसप्रकारका म्याद गुज्रिएका सामानहरु बिक्रीवितरण गर्नु गैरकानुनी एवं दण्डनीय भएकोबारे सम्बन्धित व्यवसायीलाई सचेत बनाईएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख तथा बजार अनुगमन समितिका संयोजक रविशंकर शाहले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।
बजार अनुगमन समितिका प्रतिनिधीहरुमा नागरिक समाज माडी, उद्योग बाणिज्य संघ माडी, ईलाका प्रशासन कार्यालय माडी र ईलाका प्रहरी कार्यालयका प्रतिनिधीहरुसंग नेपाल पत्रकार महासंघका प्रतिनिधि सदस्य रहनुभएको छ भने समितिको सदस्य सचिब सन्तोष सुवेदी रहनुभएको छ ।

यसैबिच, माडी नगर बजार अनुगमन समितिले उपभोक्ताहरुलाई सचेत हुन अनुरोध गरेको छ । बजार अनुगमनका क्रममा क्रममा प्रायः पसल तथा होटल वा खाजा घरहरुमा म्याद सकिएका चिसो पेय पदार्थ र खाद्यान्न भेटिएसंगै म्याद सकिएको चिसो पेय र खाद्यपदार्थ उपभोग नगर्न उपभोक्ताहरुनै सचेत हुनुपर्ने समितिका संयोजक रविशंकर शाहले जनाउनुभयो । आफूले उपभोग गर्न लागेको पेय पदार्थको उत्पादन मिति र म्याद सकिने मिति हेर्ने बानीको बिकास गर्न उहाँले उपभोक्ताहरुलाई अनुरोध गर्नुभएको हो ।

SwadeshPost