नेपाल शिक्षक महासंघ, माडी नगर समितिद्धारा शुक्रबार माडी न.पा कार्यालयमा धर्ना

228
SwadeshPost

नेपाल शिक्षक महासंघ, माडी नगर समितिले शुक्रबार माडी नगरपालिका कार्यालयमा धर्ना तथा बिरोध कार्यक्रम गरेको छ । देशव्यापी रुपमा ७५३ वटा निकायहरुमा धर्ना तथा बिरोध कार्यक्रम गर्ने राष्ट्रिय कार्यक्रम अन्तरगत शुक्रबार दिउँसो माडीको बसन्तपुरस्थित माडी नगरपालिकामा बिरोध तथा धर्ना कार्यक्रम गरिएको नेपाल शिक्षक महासंघ, माडी नगर समितिका अध्यक्ष चन्द्रमणी महतोले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

राज्यसंग भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने, राहत कोटालाई दरबन्दीमा रुपान्तर गरी शिक्षक सेवा आयोगमार्फत परीक्षा लिई स्थायीको प्रक्रियामा अगाडी बढाउनुपर्ने, बाल विकास ईकाईका शिक्षिकाहरुलाई उचित प्राथमिक तहको श्रेणी कायम गर्नुपर्ने, शिक्षकको उपचारको लागि शिक्षक हस्पिटल सञ्चालन गर्नुपर्ने, योग्यता पुगेका शिक्षकहरुलाई तहगत रुपमा बढुवा गर्नुपर्ने, शिक्षकका सेवा सर्तहरुमा बृद्धि गर्नुपर्ने, शिक्षक सेवा आयोगलाई संबैद्यानिक आयोगमा रुपान्तर गर्नुपर्ने र शिक्षा क्षेत्रमा राष्ट्रिय रुपमै बजेट बढाई कम्तीमा २० प्रतिशत बिनियोजन गर्नुपर्ने लगायतका मागहरु राखी शिक्षकहरुले देशव्यापी धर्ना दिएका हुन् ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको कार्यक्रम अन्तरगत शैक्षिक विकास र पेशागत हकहीतका मागहरुसहित माडीका सम्पूर्ण शिक्षक तथा विद्यालयका कर्मचारीहरु धर्नामा सहभागी भएका थिए । शिक्षकहरुले पेश गरेको बिरोधपत्र माडी नगरपालिकाका कार्यपालिकाका प्रवक्ता शिवहरी सुवेदी तथा निमित्त प्रशासकीय अधिकृत रविशंकर शाहले ग्रहण गर्नुभएको थियो । नेपाल शिक्षक महासंघले देशव्यापी रुपमा गरेको कार्यक्रम शिक्षा क्षेत्रको हीतमा रहेको जनाउँदै प्रवक्ता सुवेदीले माडी नगरपालिकाले शिक्षा क्षेत्रका लागि उचित बजेट विनियोजन गरेको तथा ई.सि.डी. शिक्षिकाहरुलाई प्रतिव्यक्ति मासिक रु २ हजार थप तलब तथा पोशाक भत्तासमेत बृद्धि गरिएको उहाँले जनाउनुभयो ।

SwadeshPost