तिहारको अवसर पारी माडीमा तिहार विशेष साँस्कृतिक कार्यक्रम र देउसी भैलोहरु आयोजना

110
SwadeshPost

नेपालीहरुको महान पर्व तिहारको अवसरमा माडीमा तिहार विशेष साँस्कृतिक कार्यक्रम र देउसी भैलोहरु आयोजना गरिएका छन् । तिहारको अवसरमा दियो साँस्कृतिक मञ्च, माडी नगरपालिका–५, चितवनले कालीका मन्दिरको व्यवस्थापन सहयोगार्थ कार्तिक २२ गते साँझ ७ बजेदेखि तिहार विशेष साँस्कृतिक कार्यक्रम गर्न लागेको छ । दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको ब्लक ए, रमाइलोडाँडामा कार्यक्रम सञ्चालन गरिने दियो साँस्कृतिक मञ्चका अध्यक्ष कैलाश काफ्लेले जानकारी दिनुभयो । त्यसैगरी लौंगाई बाल समूहले माडी नगरपालिका–२, लौंगाईमा पनि तिहार विशेष कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । तिहारै अवसरमा माडीको अम्रौली, इनारबरुवा र भैरवपुरमा स्थानीय गाउँले तथा युवा क्लबहरुद्वारा विविध साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिन लागेका हुन् ।

यसैबिच, तिहारको सन्दर्भ पारी भैरवपुर स्काउट कोषको सहयोगार्थ भैरवपुर आधारभूत विद्यालयको स्काउट ट्रुपले बृहत देउसी भैलो गर्ने जनाएको छ । उता, बरुवा बजारमा राधाकृष्ण मन्दिरको निर्माणमा सघाउन रेवेश्वर शिव मन्दिर धार्मिक सेवा समितिले पनि देउसी भैलो गर्न लागेको छ । नेपाल मगर विद्यार्थी संघले पनि सँस्कृति रक्षाका लागि परम्परागत स्वरुपको देउसीभैलो गरिने स्वदेश एफ.एम.लाई जानकारी दिएको छ ।

SwadeshPost