माडीकाे बजार अनुगमनबाट बरामद गरिएका, म्याद गुज्रिएका पदार्थहरु नष्ट गरियाे

264
SwadeshPost

माडीभर गरिएको बजार अनुगमनबाट बरामद गरिएका म्याद गुज्रिएका खाद्यपदार्थ र अन्य सामानहरु आज मंगलबार नष्ट नरिएको छ । सम्पूर्ण कानुनी प्रक्रियाहरु पुरा गरी ईलाका प्रहरी कार्यालय परिसरमा सो सामानहरु नष्ट गरिएको अनुगमन समितिका मिडिया प्रतिनिधी गोबिन्द न्यौपानेले जानकारी दिनुभयो ।

माडीको बनकट्टादेखि बगहीँसम्मका मुख्य बजारहरुमा गरिएको बजार अनुगमनबाट बरामद भएका उपभोग्य म्याद सकिएका २१ बोरा मैदासहित बिस्कुट, मैदा, तेल, घरेलु मदिरा उत्पादनमा प्रयोग हुने मर्चा लगायतका सामानहरु जेसिबीमार्फत खाल्डो खनी नष्ट गरिएको हो । माडी नगरपालिका, ईलाका प्रशासन कार्यालय माडी, ईलाका प्रहरी कार्यालय माडी, माडीका आमसञ्चार संस्थाहरु तथा माडी नगरपालिका अन्तरगतको बजार अनुगमन समितिका प्रतिनिधीहरुको रहोबरमा सामानहरु नष्ट गरिएको हाम्रा प्रतिनिधी विजय विश्वकर्माले जनाउनुभयो ।

नगरपालिकाका आयुर्वेद नीरिक्षक रविशंकर शाहको संयोजकत्वमा गठित माडी नगर बजार अनुगमन समितिका प्रतिनिधीहरुमा नागरिक समाज माडी, उद्योग बाणिज्य संघ माडी, ईलाका प्रशासन कार्यालय माडी र ईलाका प्रहरी कार्यालयका प्रतिनिधीहरुसंग नेपाल पत्रकार महासंघका प्रतिनिधि सदस्य रहनुभएको छ भने समितिको सदस्य सचिब सन्तोष सुवेदी रहनुभएको छ । मंगलबार सामानहरु नष्ट गर्नुअघि सो टोलीले बसन्तपुर बजारमा पुनः अनुगमन गरेको थियो ।

SwadeshPost