नेकपा माडी नगर कमिटिले आउँदो २४ र २५ गते वडास्तरीय समितिहरु गठन गर्ने

293
SwadeshPost

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी नगर कमिटिले तिहार सकिएलगत्तै आउँदो २४ र २५ गते वडास्तरीय समितिहरु गठन गर्न लागेको जनाएको छ । बिहीबार नगरस्तरीय समिति गठन भएसंगै वडास्तरमा कार्यसमिति बिस्तार हुन लागेको नेकपा नगर कार्यालय समितिका नारदमणी पौडेलले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

हरेक वडामा हाल विद्यमान साविकका दुईवटै पार्टीहरु नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका वडास्तरीय पदाधिकारीहरुलाई संयोजन गरी वडास्तरीय कार्यालय गठन गरिने नेता पौडेलको भनाई छ । दशैंतिहार जस्ता चाडपर्वहरु सकिएलगत्तै पार्टीलाई केन्द्रदेखि वडास्तरसम्मै चलायमान बनाउन केन्द्रीय कमिटि तथा प्रदेश कमिटिको परिपत्रका आधारमा वडा कार्यालय गठन गरिन लागेको जनाइएको छ ।

यसअघि, नारदमणी पौडेल, रेशमलाल आचार्य, नारायण अधिकारी, रामेश्वर चौधरी, दण्डपाणी पौडेल, नारायणदत्त (बासु) सापकोटा, केदार अधिकारी, प्रभु महतो र ऋषि काफ्ले सदस्य रहनुभएको नेकपाको नगरस्तरीय कार्यालय समिति गठन भएको थियो । तर सो समितिमा दलित र महिलाको प्रतिनिधित्व हुन नसकेको भन्दै नेकपाका कार्यकर्ताहरुले असन्तोष व्यक्त गरेका छन् । नगर कार्यालयले भने साविकको पदाधिकारीहरुको संयोजन मात्र गरिएकोले यो समिति अल्पकालीन रहेको र निकट भविष्यमै नगरस्तरीय नयाँ कार्यसमिति गठन गरिने जनाएको छ ।

SwadeshPost