दशैं र तिहार सकिएसंगै माडी उपत्यकामा अर्को पर्व छठको रमझम सुरु

125
SwadeshPost

दशैं र तिहार सकिएसंगै माडी उपत्यकामा हिन्दूहरुको अर्को पर्व छठको रमझम सुरु भएको देखिएको छ । छठको तयारीस्वरुप हाल माडीको रौतनी, बाँदरमुढे, चितई र रीउ नदी छेउ रहेका छठीमाईको घाट वरपर सरसफाई गर्न सुरु गरिएको स्थानीयबासीहरुले जनाएका छन् । छठ मनाउने अधिकांश परिवारका कोही सदस्य सीमावर्ती ठोरीको बाटो हुँदै भारतीय बजार नरकटियागंजमा छठलाई आवश्यक पर्ने सामाग्री जोहो र किनमेल गर्न पुगेका छन् ।

छठ पर्वमा बाँसका डाला, नाङ्लो, ढकिया, माटोका भाडा, नरिवल, सख्खरलगायतका सामाग्री आवश्यक पर्छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि छठ पर्व भव्यताका साथ माडीसंगै समग्र तराई मधेश क्षेत्र र पछिल्ला दिनहरुमा देशैभर मनाइने गरिएको छ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ । विशेष निष्ठापूर्वक मनाइने छठ पर्वको अवधिभरि माछा, मासु लगायतका मांशाहारी खाना बर्जित रहनेगरेको छ । अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने यो पर्व विस्तारै सवै जाति र धर्मालम्बीहरुले मनाउन थालेका छन् ।

SwadeshPost