माडीमा जारी रहेको ‘बेटर युथ क्याम्प-२०७५’ मंगलबार सम्पन्न

272
SwadeshPost

बेटर चितवन अभियानको आयोजनामा माडीको शिवद्वारमा जारी रहेको ‘बेटर युथ क्याम्प-२०७५’ मंगलबार सम्पन्न भएको छ । ‘माडी र भरतपुरबीचको दुरीलाई अन्त्य गरौँ’ भन्ने मुल नारासहित सोमबारदेखि सुरुवात भएको सो क्याम्पमा अभियानसम्बद्ध ३० जना युवाहरुको सहभागिता रहेको अभियानका संयोजक सागर कार्कीले स्वदेश एफ.एम.लाई जनाउनुभयो ।

कार्यक्रम अन्तरगत मंगलबार माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले सहभागीहरुलाई माडी विकासको सम्भावना र चुनौती तथा यसमा युवाहरुको भूमिकाका बिषयमा प्रस्तुती गर्नुभएको थियो । त्यसअघि, सोमबार होम बहादुर बस्नेतले उद्यमशीलता र सकारात्मक सोचको बिषयमा तथा लेखिका एवं अधिकारकर्मी सरिता तिवारीले वर्तमान राजनीति र युवाहरुको भुमिका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । क्याम्पका सहभागीहरुबिच माडी र भरतपुर बीचको दुरीलाई कसरी कम गर्ने साथै माडी क्षेत्रको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रमा विकास ल्याउन के गर्नुपर्छ भन्ने विषयमा अन्तरसम्वाद भएकोमा त्यसको प्रतिवेदन माडी नगरपालिका र भरतपुर महानगरपालिकालाई प्रदान गरिने कार्यक्रम रहेको छ ।

यसैबिच, अभियानको तेश्रो वार्षिक उत्सव पनि मंगलबार मनाइएको छ । क्याम्पकै सन्दर्भमा केक काटेर खुसीयाली मनाउँदै अभियानको तेश्रो बार्षिकोत्सव मनाइएको हो । बेटर चितवन अभियान नामको सो संस्थामा हाल करिव ७० जना युवाहरु आवद्ध रहेका छन् । करिब तीन वर्षदेखि सक्रिय रहिआएको सो अभियानले चितवनमा युवा, शिक्षा, स्वास्थ्य, संस्कृती, वातावरण, प्रविधी र अर्थव्यवस्था गरी सात क्षेत्रमा काम गर्ने उद्देश्य राखेको छ ।

SwadeshPost