माडी नगरपालिकाद्धारा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

322
SwadeshPost

पूर्वी तथा मध्यपूर्वी माडीका बिरामीहरुलाई लक्षित गरी शुक्रबार माडी नगरपालिकाले स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । खरकट्टास्थित अयोध्यापुरी स्वास्थ्य चौकीमा सम्पन्न शुक्रबारको शिविरमा करीब १९५ जना बिरामीहरुको स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा दिइएको नगर स्वास्थ्य संयोजक शिव सुवेदीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

शुक्रबारको शिविरमा भरतपुर अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटा, भरतपुर अस्पतालकै रेडियोलोजिस्ट डा. रमेश घिमिरे र बघौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. बिध्या भुसालको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । पाठेघरको मुखको क्यान्सरका जाँच भने बघौंडा अस्पतालका नर्सिङ स्टाफ बिना तामाङ र टिका तिवारीले गर्नुभएको थियो । शिविर सञ्चालन हुनुअघि माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा संक्षिप्त उद्घाटन कार्यक्रम भएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि रहनुभएकी माडी नगरपालिकाकी नगर उप–प्रमुख ताराकुमारी काजी महतोले ७५ बर्षीया बृद्धा मीठु सुवेदीलाई बिरामी टिकट पुर्जा हस्तान्तरण गरी शिविरको उद्घाटन गर्नुभएको हो ।

शिविरमा पाठेघरको मुखको क्यान्सरको जाँच तथा परामर्श, आँग खस्ने समस्याको जाँच, उपचार तथा परामर्श, यौनरोगको जाँच तथा उपचार, स्त्रीरोग विशेषज्ञबाट जाँच तथा उपचार, गर्भवती र अत्यावश्यक बिरामीलाई भिडियो एक्सरे लगायतका सेवा उपलब्ध रहेको थियो । शिविर भोलि शनिबार पश्चिमी माडीको बरुवा बजारस्थित गर्दी स्वास्थ्य चौकीमा पनि सञ्चालन हुने माडी नगरपालिकाले जनाएको छ ।

SwadeshPost