स्वास्थ्यजन्य जटिलताहरु ब्यहोर्दै आएका बाँदरझुलाबासीहरु आफै एम्बुलेन्स किन्न कस्सिए

330
SwadeshPost

एम्बुलेन्सको अभावमा स्वास्थ्यजन्य गम्भीर जटिलताहरु ब्यहोर्दै आएको सुदूरपूर्वी माडीको बाँदरझुलाबासीहरु आफै एम्बुलेन्स किन्न कस्सिएका छन् । एम्बुलेन्स खरिदका लागि मंगलबार बाँदरझुलाबासीहरुले आर्थिक संकलन समिति नै गठन गरी बस्तीमा तत्काल एम्बुलेन्स भित्र्याउन कस्सिएका हुन् ।

भक्त बहादुर प्रजाको अध्यक्षतामा गठित सो आर्थिक संकलन समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः पवित्रा गुरुङ, आशिष गोपाल परियार र पार्वती अधिकारी रहनुभएको छ भने सदस्यहरुमा जगत बहादुर प्रजा, पारस थापा, वडा सदस्य लक्ष्मी सुनाम र नगर कार्यपालिका सदस्य जगराम प्रजा रहनुभएको छ । आज बाँदरझुलाबासीहरुको सामुहिक बैठकबाट प्रत्येक घरधुरीबाट पाँच सय रुपैंया संकलन गरी एम्बुलेन्स खरिदको श्रोत जुटाउने निर्णय भएको हो । नपुग रकम नगरपालिका र वडा कार्यालय, विभिन्न सामाजिक संघसंस्था एवं सामाजिक व्यक्तित्वहरुबाट संकलन हुने अपेक्षा गरिएको स्थानीय शिक्षक समेत रहनुभएका सहयोग संकलन समितिका सचिव आशिष गोपाल परियारले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

सडक सञ्जालको असहजता तथा चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण ठोरी, माडी र अन्य ठाउँमा एम्बुलेन्सहरु बाँदरझुला पुग्न आनाकानी गर्दै आएका थिए । एम्बुलेन्सको अभावमा आकस्मिक अवस्थाका बिरामीहरुको हताहती हुने गरेको थियो तथा अन्य बिरामी र घाइतेहरुलाई समेत समयमै स्वास्थ्य केन्द्र तथा अस्पताल पु-याउन नसक्दा स्वास्थ्यजन्य गम्भीर जटिलताहरु देखापर्ने गरेको बाँदरझुलाबासीको गुनासो छ ।

SwadeshPost