माडीका वामपन्थी नेता भुसालको स्मृतिमा शनिबार श्रद्धाञ्जलीसभा सम्पन्न

59
SwadeshPost

संरक्षणकर्मी तथा माडीका वामपन्थी नेता यमकान्त भुसालको स्मृतिमा शनिबार उहाँको निवासमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को माडी नगर कार्यालयद्वारा आयोजित सो श्रद्धाञ्जलीसभामा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधीहरुले समेत दिवंगत यमकान्त भुसालको राजनैतिक, सामाजिक, शैक्षिक तथा संरक्षणजन्य योगदानहरुबारे चर्चा गरेका थिए । कार्यक्रममा, नेकपाको नगर कार्यालय सदस्य दण्डपाणी पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेकपा जिल्ला कार्यालय चितवनका कार्यालय सदस्य यमबहादुर परियार इन्द्रजीत रहनुभएको थियो । कार्यक्रममा नेकपाका माडीका नेताहरु प्रेमराज तिमिल्सिना, नारदमणी पौडेल, नारायणदत्त सापकोटा बासु, केदार अधिकारी, ओमनाथ पाण्डे, श्याम कुमार बिष्ट र काँग्रेस नेता जयनारायण लामिछाने लयायतको उपस्थिति रहेको थियो ।

२०११ साल भाद्र २० गते जन्मनुभएका यमकान्त भुसाल साविक गर्दी गा.वि.स. वडा नं. ९ तथा हाल माडी नगरपालिका वडा नं. १ का स्थायी बासिन्दा रहनुभएको थियो । प्रवासको बसाइ अन्तरगत भारतमा रहँदा बि.सं. २०३३ सालमा अखिल नेपाल भारतीय एकता समाजको सदस्य भई उहाँ बामपन्थी राजनीतिमा होमिनुभएको थियो । २०३५ सालमा तात्कालीन नेकपा (मशाल)को पार्टी सदस्यता लिनुभएका उहाँले २०४१ सालमा तात्कालीन अखिल नेपाल किसान संघ २००७ को माडी इलाका कमिटि सदस्य र २०४९ सालमा सो संगठनको चितवन जिल्ला सदस्यका रुपमा किसान आन्दोलनमा सहभागिता जनाउनुभयो ।

त्यसैगरी बहुदलीय व्यवस्थाको स्थापनासंगै २०४९ सालमा सम्पन्न स्थानीय निर्वाचनबाट तात्कालीन गर्दी गा.बि.स.को वडा नं. ९ को वडाध्यक्ष निर्वाचित भई उहाँले जनसेवा गर्नुभएको थियो । २०५३ सालमा राष्ट्रिय आधारभूत विद्यालय सिकारीपुरको विद्यालय व्यवस्थापन समिति अध्यक्ष र २०५८ सालमा सोही विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षको रुपमा शिक्षा क्षेत्रको विकासमा समेत भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी, २०६४ सालमा तात्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को क्षेत्रीय सदस्य चयन हुनुभएका उहाँ त्यसको एक बर्षपछि २०६५ सालमा पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति गर्दीको अध्यक्ष निर्वाचित भई संरक्षण र मानव बन्यजन्तुबिचको द्वन्द व्यवस्थापनमा सरिक हुनुभएको थियो ।

भुसाललाई २०७४ पौषमा घाँटीको क्यान्सर देखा परेकोमा २०७५ बैशाखमा प्रमाणित भई उपचार सुरुवात भएको थियो । भरतपुरस्थित बि.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उहाँलाई ७ वटा किमो चढाएकोमा आठौं किमो चढाउनु अघि नै कलेजोमा देखिएको समस्यकाको कारण उहाँको निधन भएको अस्पतालले जनाएको थियो । उहाँको उपचारमा सघाउन माडीसंगै स्वदेश र प्रवासमा उपचार सहायता अभियान सञ्चालन भएको थियो । हाल उहाँको परिवारमा श्रीमती साबित्री भुसाल र छोरा भूपेन्द्र भुसाल गरी २ जना रहनुभएको छ भने दुईजना विवाहित छोरीहरुबाट हालसम्म दुईजना नै नातीनातिनीहरु रहेका छन् ।

Mahindra