बैकुण्ठे मेला बृहत् साँस्कृतिक कार्यक्रममा राजु परियार र विष्णु पन्तको विशेष प्रस्तुती रहने

800
SwadeshPost

मध्यपूर्वी माडीको महत्वपूर्ण पर्यटकीय क्षेत्र बैकुण्ठधाममा बैकुण्ठे मेलाको तयारी तिब्र रुपमा अगाडी बढेको छ । “बैकुण्ठेश्वर धामको दर्शन गरी पुण्य कमाऔँ धार्मिक तथा पर्यटन क्षेत्रको प्रवद्र्धन गरौं” भन्ने नाराका साथ आउँदो मंसिर २० गते बालाचतुर्दशीका दिन बैकुण्ठे क्षेत्रमा लाग्ने, बैकुण्ठ मेलाको तयारीस्वरुप भौतिक निर्माणको कार्य तथा स्टल बुकिङ हुने क्रम जारी रहेको मेला आयोजक मुल समितिले जनाएको छ ।

मेलाकै तयारीस्वरुप हाल शौचालय र खानेपानी व्यवस्थापन, शिवजीको मुर्ती अगाडीको ढुङ्गे बाटो मर्मत, पार्क सरसफाई, सिँढी मर्मत, मन्दिर क्षेत्रमा सोलार बत्ती जडान, ढुंगे बाटो मर्मतसम्भार, ताल तथा शिवलिंग वरपर सरसफाई, पञ्चधारा मर्मत एवं राम मन्दिरको व्यवस्थापन लगायतका कामहरु भइरहेका छन् । त्यसैगरी बैकुण्ठ मेला लाग्ने चौरसम्मको बाटो समेत ग्रेडर लगाई मर्मत भइरहेको माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले जनाउनुभयो ।

मंसिर २० गते मेला लाग्ने बैकुण्ठधाममा मेलासंगै बृहत् साँस्कृतिक कार्यक्रम समेत सञ्चालन हुने जनाइएको छ । बैकुष्ठ क्षेत्र विकास समिति माडी नगरपालिका ८ को अयोजनामा सञ्चालन हुने साँस्कृतिक कार्यक्रममा राष्ट्रिय लोकदोहोरी कलाकारहरु राजु परियार र विष्णु पन्तको विशेष प्रस्तुतीका साथै स्थानीय कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ । मेलाकै अवसरमा अन्तरमाडी खुला भलिबल प्रतियोगिता समेत सञ्चालन हुने जनाइएको छ । श्रद्धालु भक्तजन तथा मेला हेर्न आउने आगन्तुकहरुको सहजताका निम्ति बैकुण्ठ चोकबाट बैकुण्ठ धामसम्म सवारी साधनको व्यवस्था समेत गर्न लागिएको मेला आयोजक समितिका अध्यक्ष जीतबहादुर शाहीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost