हात्तीको आक्रमणमा मृत्यु भएका माडीका दुई महिलाको परिवारलाई मा.न.पा काे टोलीद्वारा भेट

284
SwadeshPost

जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएका माडी टम्टामा दुईजना महिलाको परिवारलाई मंगलबार माडी नगरपालिकाको टोलीले भेट गरी समवेदना प्रकट गरेको छ । माडी नगरपालिकाको वडा नं. ९ कार्यालयको आयोजनामा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुसंगै चितवन क्षेत्र नं. २ ख का प्रदेश साँसद घनश्याम दाहाल अविनाश प्रमुख अतिथिका रुपमा उपस्थिति रहनुभएको थियो । वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगर प्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडा नं. ३, ५, ६ र ८ का वडाध्यक्षहरु क्रमशः पुरन महतो, रामबन्धु पोखरेल, भरत बहादुर गुरुङ र कृष्णराज अधिकारीसंगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का माडी नगरस्तरीय नेताकार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो । भेटघाटका सहभागीहरुले हात्तीबाट सुरक्षाका लागि कंक्रिट पर्खाल निर्माणका लागि माडी नगरपालिकासंगै संघीय र प्रदेश सरकारसंग विशेष कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए ।

यसैबिच, माडी भरतपुर सम्पर्क मञ्चले समेत मृतकद्वयको परिवारलाई भेटघाट गरी समवेदना व्यक्त गरेको छ । सम्पर्क मञ्चका अध्यक्ष जीतेन्द्र भण्डारी र सचिव हिमाल दवाडी लगायतको टोलीले मृतकद्वयको परिवारलाई भेटघाट गरी मृतकद्वयप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेको हो । गत मंसिर १२ गते दिउँसो करीब ३ बजे माडी नगरपालिका वडा नं. ९, टम्टा निवासी बर्ष ३५ की शुसिला भण्डारी र सोही वडा निवासी बर्ष ६० की कृष्णकली पौडेलको हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो ।

SwadeshPost