चेलिबेटी बेचविखनको आशंकामा इ.प्र.का माडीद्वारा एक भारतीय नागरिकलाइ नियन्त्रणमा

343
SwadeshPost

चेलिबेटी बेचविखन हुनलागेको आशंकामा बुधबार ईलाका प्रहरी कार्यालय माडीले एक भारतीय नम्बरको गाडीसहित त्यसमा सवार भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोक घर भएकी एकजना महिलालाई सो गाडीमा राखी माडीको बाटो हुँदै ठोरीतर्फ लैजादै गरेको अवस्थामा साेमेश्वर प्रहरी चाैकि टम्टाले विशेष सुत्रबाट प्राप्त सुचनाका आधारमा गाडीसहित दुबैलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय माडीले जनाएको हाे ।

नियन्त्रणमा लिइएको पुरुषले ठोरीमा होटल सञ्चालन गरिरहेको र त्यसमै कामदारका रुपमा महिलालाई लैजाँदै गरेको प्रारम्भिक बयान दिएका थिए । महिलाले समेत आफूले यसअघि होटलमै काम गर्ने गरेको र यसपटक पनि कामकै लागि जान लागेको प्रारम्भिक बयान दिएकी थिइन । दुबैजनालाई थप अनुसन्धानका लागि गाडीसहित जिल्ला प्रहरी कार्यालय भरतपुर चलान गरिएको माडी प्रहरीले जानकारी दिएको छ ।

बुधबारको घटनाको प्रकृति केहि फरक रहेको भएपनि माडीको बाटो हुदै सीमावर्ती ठोरी पु-याएर भारतका विभिन्न शहरहरुमा लगी चेलिबेटी बेचबिखन हुने क्रम रोकिएको छैन । चेलिबेटी बेचबिखन नियन्त्रणका लागि हाल माडीमा के.आई. नेपाल, थ्रि एञ्जल्स नेपाल र इलाका प्रहरी कार्यालय माडी सक्रिय रहेको छ भने ठोरी क्षेत्रमा माइती नेपाल र सशस्त्र तथा जनपथ प्रहरी क्रियाशील रहेको छ ।

SwadeshPost