बालाचतुर्दशीका दिन बैकुण्ठधाममा भव्यतापूर्वक बैकुण्ठे मेला सम्पन्न

669
SwadeshPost

मध्यपूर्वी माडीको महत्वपूर्ण पर्यटकीय क्षेत्र बैकुण्ठधाममा बिहीबार बालाचतुर्दशीका दिन भव्यतापूर्वक बैकुण्ठे मेला सम्पन्न भएको छ । मेला भर्न माडीसंगै विभिन्न ठाउँहरुबाट हजारौंको संख्यामा श्रद्धालु भक्तजन र दर्शनार्थीहरु बैकुण्ठ क्षेत्र पुगेका थिए । ‘बैकुण्ठेश्वर धामको दर्शन गरी पुण्य कमाऔँ, धार्मिक तथा पर्यटन क्षेत्रको प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ बैकुष्ठ क्षेत्र विकास समिति माडी नगरपालिका ८ को आयोजनामा मेला लागेको थियो ।

मेलाको प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नुभयो । बैकुष्ठ क्षेत्र विकास समितिका अध्यक्ष जीत बहादुर शाहीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको विशिष्ट अतिथि माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो र प्रादेशिक मन्त्री लामाका स्वकीय सचिव रहनुभएको थियो । कार्यक्रममा माडीका अधिकांश वडाका वडाध्यक्षहरु तथा अन्य सामाजिक अगुवाहरुको आतिथ्यता रहेको थियो ।

मेलाको अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम समेत सञ्चालन भएको थियो । सो साँस्कृतिक कार्यक्रममा चर्चित राष्ट्रिय लोकदोहोरी कलाकारहरु राजु परियार र विष्णु पन्तसंगै माडी र चितवनका कलाकारहरुले साँस्कृतिक प्रस्तुती गरेका थिए । त्यसैगरी मेला परिसरमै अन्तरमाडी खुला भलिबल प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । भलिबल प्रतियोगितामा माडी नपा वडा नं ८ विजयी भएको छ । मेला भर्न माडीसंगै चितवन र पर्सा तथा अन्य छिमेकी जिल्लाहरुबाट हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु बैकुण्ठे क्षेत्रमा पुगेका थिए । यसपटकको मेलामा अघिल्लो बर्षको तुलनामा धेरै भीडभाड देखिएको थियो । मेलास्थलमा खाजा, खाना, फलफूल, खेलौना, कपडा तथा अन्य सामानहरु बिक्रीका लागि व्यापारीहरुको समेत उल्लेख्य सहभागिता रहेको देखिन्थ्यो । हरेक बर्ष बालाचतुर्दशीको अवसर पारी बैकुण्ठ क्षेत्रमा भव्य मेला लाग्ने गरेको छ भने अन्य समयमा समेत सो स्थानमा बनभोज सहित घुमफिरका लागि दर्शनार्थी एवं पर्यटकहरु आउने गरेका छ्न् ।

SwadeshPost