रौतनी खोलाको पक्की पुल भासिंदा रतनी धोबाहा लगायतका क्षेत्रमा आवागमनमा समस्या

219
SwadeshPost

माडीको रेवा (खादर) टोलस्थित रौतनी खोलामा बनेको पक्की पुल भाँसिएसंगै रतनी धोबाहा लगायतका क्षेत्रमा आवागमनमा समस्या भएको छ । वडावासीको लामो समयदेखिको माग र दबावको प्रभावस्वरुप गत २०७३ सालको फागुनमा निर्माण सम्पन्न भएको सो पुल गतबर्षको बाढीमा भाँसिएर क्षतीग्रस्त भएसंगै हाल पुल छेउमै खोलाबाट आवत जावत हुने गरेको छ । तात्कालीन जिल्ला विकास समिति र माडी नगरपालिकाको करीब १२ लाखको लागतमा निर्माण गरिएको सो पुल निर्माण पुरा भएको दोश्रो बर्षमै भाँसिएको हो । हाल पुलको दुबैतिरबाट रौतनी खोला बग्ने गरेको छ । सो पुलहुँदै माडीको धोबाहा, रतनी, सिमरा, रेवाटोल, खादरटोल, पौहारी लगायतका गाउँबासीहरु आवतजावत गर्ने गरेका थिए । पुल भाँसिएसंगै त्यसमाथिबाट आवतजावत बन्द भएको छ ।

यसैबिच, भाँसिएको सो पुल मर्मत गरी सञ्चालनका लागि माडी नगरपालिका वडा नं. ३ कार्यालयले चासो देखाएको छ । वडा नं. ३ का वडाध्यक्ष पुरन महतोले हाल भाँसिएको पुल मर्मत गरी तथा पुलको दुबैतिर स्ल्याब थप गरी त्यसलाई सञ्चालनमा ल्याउने पहल भइरहेको जनाउनुभयो । स्वदेश एफ.एम.संग कुराकानी गर्दै वडाध्यक्ष महतोले पुलको पुनर्सञ्चालनका लागि इञ्जिनियरहरुसंग रायसल्लाह लिइसकेको र त्यसको मर्मतका लागि दाता खोज्ने काम जारी रहेको जिकिर गर्नुभयो । पुल निर्माण हुँदा सो निर्माण समितिको अध्यक्ष नै रहनुभएका उहाँले सो समयमा पनि स्टमेट भन्दा धेरै काम गरिएको र हाल त्यसको मर्मत वडा कार्यालयको प्राथमिकतामा रहेको जिकीर गर्नुभएको हो ।

SwadeshPost